
काठमाडौं, पुस २३ ।कोरोना भाइरस संक्रमणको कारणबाट विश्वभर ६ सय भन्दा बढी पत्रकारहरुको मृत्यु भएको छ।
सन् २०२० को मार्चदेखि डिसेम्बरको अन्त्यसम्ममा विश्वभर ६ सय दुई जना पत्रकारको मृत्यु भइसकेको विवरण प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी)ले सार्वजनिक गरेको छ।
पिइसीले प्रतिवेदन सार्वजनिक गर्दैगर्दा पत्रकारहरू अग्रपङ्क्तिमा हुन आउने भएकाले उनीहरूलाई पनि कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह गरेको छ।
कोरोना संक्रमणको कारण मृत्युु भएका मध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना पत्रकार ल्याटिन अमेरिकी मुलुकको रहेका छन्। त्यसैगरी मृत्युु भएका मध्ये एसियाका १४५ जना, युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ र अफ्रिकाका २८ जना रहेका पनि प्रतिवेदनमा उल्लेख छ।
स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको पिइसीले पत्रकारहरू समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरूमा सङ्क्रमणको खतरा धेरै रहेको जनाएको छ।
‘पत्रकारहरू स्थलगत रूपमा नै भ्रमण गरी काम गर्नु पर्ने व्यावसायिक प्रकृतिका भएकाले सङ्क्रमणको सम्भावना बढी हुन्छ, त्यसैले उनीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिनुहुन सबैलाई अनुरोध छ,’ पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ।
फोटो तथा भिडियो सङ्कलन गर्नुपर्ने, स्थलगत समाचार सङ्कलन गर्नुपर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्नुपर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्नुपर्ने पत्रकारहरूले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरू संक्रमणको बढी जोखिममा हुन्छन्।