
काठमाडौं, पुस २१ ।तीन वर्षको अवधिपछि साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने भएको छ।
साउदी अरबले कतारसँगको जमिन र समुन्द्री सीमा खुला गर्न लागेको कुवेतले जानकारी दिएको बीबीसीले जनाएको छ।
खाडी देशहरुको लागि यो ठूलो घटना हो किनभने कतारको छिमेकी देशहरुसँग विवाद छ।
साउदीले मंगलबार गल्फ कोअपरेसन काउन्सिल जीसीसीको सम्मेलनमा कतारमाथिको नाकाबन्दी हटाएको जानकारी दिने बताइएको छ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार विवाद समाप्त गर्नका लागि हस्ताक्षर हुनेछ। कतारमाथि साउदी अरबसहित अन्य छिमेकी राष्ट्रले आतंकवादलाई बढावा दिएको आरोप लगाएका थिए।
सन् २०१७ मा साउदीको नेतृत्वमा कतारमाथि नाकाबन्दी लगाइएको थियो।
साउदीसँगै यूएई, बहराइन तथा इजिटप्ले कतारमाथि नाकाबन्दी लगाएका थिए। कतारमाथि व्यापारिक, राजनीतिक, तथा यात्रा प्रतिबन्ध लगाइएको थियो।