
काठमाडौं, पुस १९ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन खोजेका कारण समस्या आएको बताए।
आइतबार रुपन्देहीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रधानमन्त्री ओली लचक भएर एक पद छाड्न तयार भए पनि दुवै पद मागेका कारण समस्या भएको बताएका हुन्।
‘सम्माननीय प्रधानमन्त्री ओलीले एउटा पद छोड्नु हुन्थ्यो, मिल्नका लागि लचकता अपनाउनु भएको थियो’, उनले भने, ‘हामीलाई थाहा छ, हामीले पहल गरेका थियौँ, तर उहाँहरुलाई अध्यक्ष र प्रधानमन्त्री दुवै चाहियो।’
उनले प्रचण्ड प्रधानमन्त्री र माधव नेपाल अध्यक्ष माग्दै हिँड्नुको कुनै तुक नहुने बताएका छन्।
उनले एकताको क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष भएको र ओली संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएको बताए।
उनले प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी चलाउने समतिविपरीत अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आँखा लगाएको आरोप लगाए। ‘प्रचण्डको जनर पार्टीको भूमिकामा होइन् सधैँ प्रधानमन्त्रीमाथि पर्यो’, उनले भने।