नयाँ वर्षको शुभकामनामा पनि प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल पक्षलाई लगाए यस्ताे आरोप (भिडियो)

काठमाडौं, पुस १७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना पूरा गर्ने बाटोमा अघि बढिरहेकाे दाबी गर्दै त्यसमा ‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षा’ले अवरोध पुर्‍याएकाे आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ सुरु भएको दिन आज (शुक्रबार) बिहान भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेकपाका प्रचण्ड-माधव पक्षलाई संकेत गर्दै देश विकासको बाटाेमा बाधक बनेको आरोप लगाएका हुन्।

‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेका छौं। समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य छ,’ सन्देशमा उनले भनेका छन्, ‘तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नुपर्‍यो। यसका बाबजुद मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं।’

aawash steels

शुभकामनाको पूर्ण पाठ (अन्त्यमा भिडियो छ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। ग्रेगोरियन क्यालेन्डर अथवा इस्वी संवतको पात्रो नुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रूपमा मनाइन्छ। वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी संवतलाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं।

भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपर्‍यो। यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍यायो। संसारका साधन, स्रोत, प्रविधि र शक्तिसम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रोभन्दा कैयौं गुणा बढी क्षति बेहोर्नुपर्‍यो।

हामीले कोभिडसँग लड्ने क्षमताका हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड-१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं। यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिँदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु।

दिदीबहिनी तथा दाजुभाइहरू,
भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएका छौं। संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ हामी उन्मुख छौं। बितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं। पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतका तुलनामा निकै अघि बढ्न सफल भएका छौं।

हामीले यही अवधिमा विकासका केही दूरगामी योजनाहरू थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरू सम्पन्न गर्‍यौं। पाँच वर्षअघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाधबाहेक निष्कर्षमा पुर्‍याउने सफलता प्राप्त गरेका छौं। व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं। फलस्वरूप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ।

दिदीबहिनी तथा दाजुभाइहरू,
हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेका छौं। समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य छ। तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नुपर्‍यो। यसका बाबजुद मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं।

आगामी दिनमा हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिक रूपमा सबलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै छौं।
हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएका छौं। राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु।

अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाइमा पुग्नेछ। राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ। आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबुत हुनेछ। हाम्रो स्वाधीनताको हामी अझ बढी व्यावहारिक र वास्तविक अर्थमा प्रयोग गर्दै अघि बढ्नेछौं।

भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं। राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाइमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु।

अन्त्यमा, नयाँ वर्ष २०२१ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद !

हेर्नुहाेस्, भिडियाे

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…