
काठमाडौं, पुस १४ ।अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोनाको तर्फबाट गतहप्ताको मंगलबार ला लिगामा भालाडोलिडविरुद्ध गोल गर्दै नयाँ रेकर्ड बनाएका थिए।
त्यसबेला गोल गरेर मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ औं गोल पुरा गरेका थिए।
उक्त गोलसँगै मेस्सीले एकै क्लबमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएको समाचारहरु प्रकाशित भए।
मेस्सी अगाडि एकै क्लबमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा ब्राजिलिएन स्टार पेलेलाई चिनिन्थ्यो। रिटायर्ड उनको एकै क्लबमा ६४३ गोल भएको बताइएको छ।
पेलेलाई मेस्सीले यस रेकर्डमा पछाडि पारेको समाचारपछि उनलाई विश्वभरबाट बधाई दिइयो।
यद्यपी ब्राजिलको सान्तोष फुटबल क्लबले भने आपत्ति जनाएको छ।
पेलेले सान्तोषबाट एकै क्लबमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका थिए। सान्तोषका अनुसार मेस्सी पेलेको कीर्तिमान नजिक पुगेका छैनन्।
उक्त क्लबका अनुसार मैत्रीपूर्ण खेललाई पनि जोड्ने हो भने पेलेले सान्तोषका लागि हजारभन्दा बढी गोल गरेका छन्।
पेलेले सान्तोषबाट प्रतिस्पर्धात्मक खेलमा ६४३ गोल र मैत्रीपूर्ण खेलमा ४४८ गोल गरेको सान्तोषको भनाइ छ।
यी सबै गोल पेलेले सान्तोषबाटै गरेको र एकै क्लबमा सर्वाधिक गोल गर्ने खेलाडी पेले नै भएको सान्तोषको दाबी छ।