ठमेलको दोकानबाट यसरी जन्मियो विश्वस्तरीय ‘राइको ब्रान्ड

ठमेल

काठमाडौं, पुस १२ । एकताका ठमेलको ज्याठामा आउटडोर गियर बेच्ने ‘राईको दोकान’ निकै चर्चित थियो। सोलुखुम्बुका राई थरका व्यवसायीको पसल थियो त्यो, जसलाई सबैले राईको दोकान भनेर चिन्थे।

त्यही पसलमा काम गर्थे विनोदमणि राई। २०५७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षा लिन काठमाडौं छिरेका विनोदमणिले त्यही पसलमा काम गर्दै स्नातकोत्तर गरे।

विनोदमणिले राईको दोकानमा जागिरमात्र गरेन्, व्यावसायिक सीप पनि हासिल गरे। जागिर खान छिरेका उनी आज राईको दोकानको ‘मालिक’मात्र भएका छैनन्, अन्तर्राष्ट्रिय स्तरको ‘राइको ब्रान्ड’ स्थापना गर्न पनि सफल भएका छन्।

अन्य चार सहपाठी साथीहरुसँग मिलेर दुईदुई लाख उठाएर सुरु गरेको ‘राइको’ ब्रान्डले आज वार्षिक ४ करोडमाथिको कारोबार गरिरहेको छ। ३५ जनालाई रोजगारी दिएको छ। त्यतिमात्र होइन, आफ्नो सामान छिट्टै युरोप र अमेरिका निर्यात गर्ने पनि उनको योजना छ।

‘त्यहाँबाट धेरै माग पनि भएको छ,’ ठमेलको छाया सेन्टरमा भेटिएका विनोदमणिले अमेरिकानो कफीको स्वाद लिँदै भने, ‘कोभिड नभएको भए अहिलेसम्म सामान अमेरिका पुगिसक्थ्यो।’

काठमाडौैं छिरेर छोटो समयमा विनोदमणिले जे गरे, त्यो तारिफयोग्य छ। पर्वतारोहण र ट्रेकिङ व्यवसायमा ‘राइको ब्रान्ड’बाट उनको टिमले नाम स्थापित गरिसकेको छ।

व्यवसाय गर्न सजिलो छैन। त्यसैमाथि ब्रान्ड बनाउन झनै मुस्किल। दुई दशकको अवधिमै नेपाली पर्यटन व्यवसायमा ‘राइको ब्रान्ड’ले आफ्नो स्थान कसरी बनायो त?Raiko5

जागिर गर्न राईको दोकान
कुनै समय गाउँबाट उच्च शिक्षा लिन काठमाडौं छिरेका धेरै विद्यार्थीको रोजाई रत्नराज्यलक्ष्मी जस्ता सरकारी क्याम्पस हुन्थे। खर्च कम, छात्रवृत्ति पनि पाइने।

बिहानको पढाइ सकेपछि जागिर खान पनि सकिन्थ्यो। सोलुखुम्बुको मुक्लीमा घर भएका विनोदमणि पनि बिहानको पढाइ सकेर ठमेल ज्याठामा रहेको एक पसलमा काम गर्न थाले।

पसलमा र्‍याफ्टिङ, ट्रेकिङ, हिमाल आरोहण, स्कीका सरसामान उपलब्ध थिए। जसलाई ‘आउटडोर गियर’ भन्ने गरिन्छ।

‘यसलाई सबैले राईको दोकान भनेर चिन्थे, विनोदमणिले पसलमा जागिर सुरु गर्दाको कुरा सुनाए, ‘हुँदाहुँदा विदेशी पर्यटकले समेत राईको दोकान भन्थे।’

उनले त्यही दोकानमा काम गर्दै स्नातकोत्तरसम्म पढे। एकातिर कलेजबाट सैद्धान्तिक ज्ञान लिँदै थिए भने राईको दोकानबाट व्यवसायिक ज्ञान।

ठमेलमा संसारभरका मान्छेसँग भेट हुन्थ्यो। उनीहरु आफ्नो देशका उत्पादनका बारेमा कुरा गर्थे। देश चिनाउने चर्चित ब्रान्डका नाम लिन्थे र गर्व गर्थे।

‘तिमीहरुको ब्रान्ड खै?’ एक जना स्पेनी पर्यटकले भनेको कुरा उनको मनमा अझै पनि ताजा छ, ‘तिमीहरुको बुद्धि छैन? यु ह्याब एम्प्टी माइन्ड।’

पर्यटकलाई नेपाली ब्रान्ड यो हो भनेर देखाउने सामान थिएन। संसारभरका पर्यटक आउने यति ठूलो ‘हब’ हुँदाहुँदै पनि नेपाली ब्रान्ड नहुँदा पर्यटक नै खिन्न हुन्थे।

नर्थफेस जस्ता प्रसिद्ध ब्रान्डको कपी गरेर यहाँ बेचिन्थ्यो। ‘आउटडोर गियर’ भएका सामान सबै विदेशी ब्रान्डका नक्कली सामान हुन्थे।

भर्खर ठमेल छिरेका विनोदमणिले ती पर्यटकका कुरा धेरै भेउ पाइसकेका थिएनन्।

यसरी बन्यो राइको ब्रान्ड
तर, बिस्तारै यी विषय उनले सिक्दै गए। ‘नेपालमा राम्रो ब्रान्ड बनाउने हो भने पर्यटकले मन पराउँछन्’ भन्ने उनलाई लागिसकेको थियो।

तर कसरी गर्ने? लगानी पनि थिएन।

राईको दोकान भन्ने शब्द पर्यटकमाझ निकै चर्चित भइसकेको थियो। ‘राईको’ नामको ब्रान्ड बनाउने हो भने पर्यटकको मनमा छिटै पस्न सकिन्छ भन्ने विनोदमणिले सोचिसकेका थिए।

त्यही सोचलाई परीक्षण गर्न भन्दै उनले राईको नाममा सामान उत्पादन गर्न थाले। लगानी थिएन तर उनले अरुले दिएको अर्डर लिने र उनीहरुको पैसामा बनाएर दिन थाले।

त्यही पसलमा काम गर्दागर्दै २०६४ सालतिर उनले यो काम सुरु गरेका थिए।

‘सानो परिमाणमा डाउन ज्याकेट, ट्राउजर, झोला बनाएर परीक्षण गर्दै थिएँ,’ उनले भने, ‘पर्यटकलाई बेचेर फिडब्याक लिइरहेको थिएँ।’

एउटै जिल्लाका अन्य साथीहरु पनि त्यसरी नै ठमेलका पसलमा काम गरिरहेका थिए। पसलको जागिरले मात्र पनि भएन। के गर्ने होला? साथीहरुबीच कुराकानी भइरहेको थियो।

‘विदेश जाने मन पनि थिएन,’ उनी भन्छन्, ‘सरकारी सेवाको लागि पनि भिडिएन।’

ठमेलको वातावरणमा भिजिसकेका थिए।

‘ठमेलको पर्यटन क्षेत्रमा छिरेपछि त्यहाँबाट निस्किन गाह्रो रहेछ,’ उनी भन्छन्।

विनोदमणिले साथीहरुमाझ प्रस्ताव राखे, ‘मैले यो काम गरिरहेको छु, अब सामूहिक रुपमा व्यवसाय गरौं।’

साथीहरुले खुसीसाथ सहमति जनाए। ५ साथीको टिम बन्योः विनोदमणि राई, उदय राई, मानध्वज राई, मिलन राई र बालाकुमारी राई। एकै साल एसएलसी पास गरेका उनीहरु ठमेलमा काम गर्दै आरआरमा सँगसँगै पढे। सबैले स्नातकोत्तर पनि गरिसकेका थिए।

२०६७ सालमा पाँच जनाले २ लाखका दरले लगानी उठाए र ‘राइको’ ब्रान्डमा आउटडोर गियर सामान उत्पादन गर्ने सहमति गरे।

 

सानो लगानीबाट सुरु गरेको ब्रान्डप्रति धेरैले विश्वास गरेका थिएनन्। ‘नर्थफेससँग कसरी प्रतिस्पर्धा गर्छ सक्छ’ भन्ने सोच धेरैको थियो। ब्रान्ड स्थापित हुनै नदिन नकारात्मक कुरा फैल्याउने प्रयास समेत भए।

तर, उनीहरुले विदेशी पर्यटकहरुबाट सहयोग पाइरहेका थिए। व्यावसायिक हिमाल आरोहण गर्ने शेर्पा समूहले पनि सहयोग गर्‍यो। आरोहण गाइडहरुबाट सहयोग पाए।

ब्रान्ड मात्र बनाएर पनि भएन। त्यो सामान गुणस्तरीय हुन आवश्यक छ। पर्वतारोहाणमा प्रयोग हुने सामान अति संवेदनशील हुन्छ। हिमालको चिसोमा सामानले काम गरेन भने ज्यान जाने खतरा हुन्छ।

उनीहरुले मादपण्ड पुरा गरेका ब्रान्डेड समान उत्पादन गर्न थाले। जस्तो कि एबी डाउन ज्याकेटले माइनस ४० डिग्रीमा शरीरलाई तातो राख्छ। हाइ अल्टिच्युडमा काम गर्ने डाउन सुट, स्लिपिङ ब्याग, ट्राउजर, टोपी पनि उत्पादन सुरु गरे।

‘हामीले थोरैथोरै गर्दै लगानी बढाउँदै गयौं,’ उनी भन्छन्, ‘अहिले प्रतिव्यक्ति लगानी ३५ लाख पुगिसकेको छ।’

यी पाँच जनाले आफ्नो ब्रान्ड प्रवद्र्धन गर्न आ–आफ्नै आउटडोर गियर आउटलेट राखेका छन्। पाँचै जनाले आफ्नो पसलमा आएका ग्राहकबाट प्रतिक्रिया लिन्छन्। उनीहरुका सुझाव, गुनासा लिएर थप सुधारको प्रयास गर्छन्।

आफ्नै कारखानामा ३५ जनालाई रोजगारी
व्यवसाय सफल हुँदै गएपछि वर्षअघि उनीहरुले आफ्नै गार्मेन्ट स्थापना गरे। स्वयम्भु नजिकै चमतीमा रहेको कारखानामा कोरोनाअघि ३५ जनाले काम गर्थे। अहिले कोरोनाले गर्दा केही घर गएका छन्। ग्रामीण क्षेत्रबाट आउनेलाई रोजगारी दिएको उनले बताए।

‘हामीले सकेसम्म धेरैलाई रोजगारी पनि दिन पाए हुन्थ्यो भन्ने सोचेका छौँ,’ विनोदमणिले भने, ‘केही भारतीय कामदार पनि छन्।’

‘ज्याकेट सिलाएर मासिक ६०/७० हजार कमाउने पनि हामीसँग हुनुहुन्छ,’ उनले भने, ‘एउटा ज्याकेट सिलाएवापत एक जनाले ३ हजार रुपैयाँ पाउँछन्।’

तलब, भत्ता, दसैँ खर्चलगायतको सुविधा पनि उपलब्ध गराएको उनको भनाइ छ।

‘हामीले पनि जागिर गरेको हो। श्रम गर्नेलाई जति खुसी बनाउन सक्यो त्यत्ति काम हुन्छ,’ विनोदमणिले भने, ‘यसले कम्पनीलाई माथि उठाउन सजिलो हुन्छ।’

त्यसैले उनले उत्पादन गरेका सामान बजारमा अरुका भन्दा केही महंगो भएको बताउँछन्।

‘तुलनात्मक रुपमा महंगो हुनुको कारण गुणस्तर पनि हो,’ विनोदमणिले भने, ‘हामीले उच्चस्तरका कच्चा पदार्थ प्रयोग गर्छौँ। प्रत्येक कच्चा पदार्थको ग्यारेन्टी सम्बन्धित कम्पनीले लिएको हुन्छ।’

उनले वार्षिक ४ करोडसम्मको कारोबार गरिरहेको बताए।

‘सोचेभन्दा धेरै माग छ। साथै, पर्यटकले प्रविधियुक्त सामानको अझ ठूलो अपेक्षा गरिरहेका छन्,’ उनले भने, ‘पर्यटकहरु समानको विविधता चाहन्छन्।’

ठूला टोलीको रोजाइमा राइको ब्रान्ड
राइको ब्रान्डले विश्वास जित्दै गएपछि हिमाल आरोहण गर्ने ठूला र प्रख्यात टोलीले समेत यिनै सामान प्रयोग गरिरहेका छन्।

जस्तो कि २०१९ मा सात हजारभन्दा अग्लो हिमाल चढ्नेमध्ये धेरैले राइको ब्रान्ड प्रयोग गरेको विनोदमणिले बताए।

‘त्यो बेला झन्डै ३ सय जनाले ती हिमाल चढ्नुभएको थियो,’ विनोदमणिले भने, ‘त्यो बेला सबैभन्दा धेरै राइको ब्रान्ड प्रयोग भएको थियो।’

२०२० मा पनि त्यही रफ्तारमा पर्यटक बढिरहेका थिए। भिजिट नेपालको घोषणाले पर्यटन क्षेत्रमा अझ उत्साह थपेको थियो। यही वर्षलाई भनेर बाहिरका विभिन्न कम्पनीहरुले ५ सय पिस राइको ब्रान्डका डाउन ज्याकेट अर्डर दिएका थिए। तर, कोरोना महामारीले सबैथोक ठप्प पारिदियो।

‘ती सामान अहिले त्यत्तिकै छन्,’ विनोदमणिले भने, ‘अहिलेसम्म बेच्न सकिएको छैन। यसपाली बेच्न सकिन्छ भन्ने आशामा छौं।’

केही दिनअघि मात्र सगरमाथाको नयाँ उचाइ सार्वजनिक भयो। त्यो उचाइ नाप्ने टोलीले पनि राइको ब्रान्ड नै प्रयोग गरेका थिए। उक्त टोलीका सदस्यहरुले राइको ब्रान्डका करिब ३० लाखका विभिन्न सामान प्रयोग गरेको उनले बताए।

‘सगरमाथाको नयाँ उचाइ नाप्ने टोलीका व्यक्तिहरूले ज्याकेट, ट्राउजर, टोपी, भित्री कपडालागायत सामान हाम्रो प्रयोग गर्नुभएको थियो,’ विनोदमणिले भने, ‘यसले पनि विश्वमा राम्रो सन्देश गएको छ।’

त्यस्तै, कतारका राजकुमारको टोली र निर्मल पुर्जाको टोलीले पनि उनको सामान प्रयोग गरेको थियो। २०२० मा नेपाली सेनाको टोलीले पनि सगरमाथा आरोहण गर्ने योजना बनाएको थियो। उनीहरु पनि यही ब्रान्ड प्रयोग गर्ने तयारीमा थिए तर उनीहरुको योजना स्थगित भयो।

निर्यात गर्ने तयारी
नेपाली ब्रान्डलाई हरेक देशमा पुर्‍याउने विनोदमणिको टोलीको धोको छ।

नेपालमा राइको ब्रान्ड मनपराइ रहेका विदेशी पर्यटकले आफ्नो देशमा पनि उपलब्ध भए हुन्थ्यो भन्ने आग्रह पनि गरिरहेका छन्।

‘उनीहरुले आफ्नो देशमा मिलेर गरौं भन्ने सम्मको कुरा भइसकेको छ,’ विनोदमणिले भने, ‘हामीले युरोपमा निर्यात गर्न सक्छौं। तुरुन्तै त नहोला तर केही समयमा त्यो पक्कै हुन्छ। मेड इन नेपाल लेखेको सामान प्रत्येक देशमा पुर्‍याउने चाहना छ।’

विदेशमा निर्यात गर्नलाई राम्रो तयारी चाहिने उनको भनाइ छ। एकदुई सामान मात्र निर्यात गरेर पनि भएन। आएको अर्डरलाई पुरा गर्न सक्ने र ग्राहकको इच्छा र चाहेको गुणस्तरमा पुर्‍याउन सक्नु पर्छ।

नेपालमा अहिले हिमाल आरोहणसम्बन्धी सामान उत्पादनको लागि कच्चा पदार्थ र प्रविधिको कमी छ।

डाउन ज्याकेट उत्पादन गर्न हाँसको प्वाँख जस्ता कच्चा पदार्थ चाहिन्छ। जुन चीन, ताइवान कोरियाबाट ल्याइन्छ। भनेको बेला सामान नआइदिँदा उत्पादनमा बेलाबेला समस्या आइरहन्छ।

विनोदमणि हिमाल आरोहणमा प्रयोग हुने जुत्ता पनि उत्पादन गर्न चाहन्छन्। तर प्रविधि सहज उपलब्ध छैन।

‘जुत्ता उत्पादन गर्ने सोचमा छौं,’ उनी भन्छन्, ‘अहिले नै नेपालमा त्यस्तो प्रविधि छैन। बजार पनि सानो छ।’

त्यही प्रविधि नभएको कारण कतिपय सामान बाहिर उत्पादन गरेर नेपाल ल्याउनु परेको छ। जस्तो कि ‘ट्रेकिङ स्टिक’ चीनमा बनाएर ल्याउँछन्। त्यो उत्पादन गर्ने प्रविधि नेपालमा छैन।

सरकारले प्रविधि ल्याउन र यहाँका समस्या समाधान गर्न सहजीकरण गर्ने हो भने अझ धेरै गर्न सकिने उनको विश्वास छ।

‘सरकारी निकायलाई सामान उत्पादन गर्दा हुने समस्याका बारेमा जानकारी गराएका छौं,’ उनले भने, ‘सरकारले सहयोग गर्ने हो भने अझ ठूलो स्तरमा रोजगारी दिन सकिन्छ भनेका छौं।’

अहिले उनीहरु टेक्सटाइल विज्ञ, डिजाइन इन्जिनियरहरु खोजिरहका छन्। नयाँ प्रविधि ल्याउन खोजिरहेका छन्।

लक्ष्य ठूलो छ। उनीहरुलाई विश्वास छ, सबै कुरा मिल्दै जाने हो भने विश्व प्रसिद्ध ब्रान्डसँग प्रतिस्पर्धा गर्दै विश्व बजारमा पुग्न सकिन्छ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…