रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

रोल्पा, मङ्सिर २४ ।दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो रोल्पा। देशमा दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा रोल्पामा थुप्रै ठाउँमा दोहोरो भिडन्त पनि भयो। ती भिडन्तहरुमा सयौँ रोल्पालीले ज्यान गुमाए। तर ती ठाउँहरुको विकास हुन सकेको छैन, अहिले पनि जस्ताको त्यस्तै छन्। कुनै

ठाउँ मैदानका रुपमा परिणत भएका छन् भने कतै युद्धाकृति देख्न सकिन्छ।

जिल्लामा युद्ध पर्यटनको सम्भावना रहेको अवधारणा केही पहिले नै आएको हो तर पनि केही स्थानीय तहको झिनो कामबाहेक थप केही प्रगति भने हुन सकेको छैन। जसका कारण हिजो द्वन्द्वका चपेटामा रहेका ती ठाउँहरु अहिले पनि ओझेलमा नै परेका छन्।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह शुरु गरेको थियो। सो ठाउँका साथै सशस्त्र द्वन्द्वको उद्गमस्थल थबाङ, युद्धमा तालीम शिविरका रुपमा प्रयोग गरिएको जलजला, माओवादी लडाकुले नेपाली सेनामाथि आक्रमण गरी कब्जा गरेको गाम बढी महत्वपूर्ण मानिन्छन्।

यसैगरी कैयौँ मानिसको ज्यान जानेगरी सामूहिक हत्याकाण्ड भएका भाबाङ, गुम्चाल, हार्जङ, माओवादी लडाकूको पहिलो ध्वस्त तालीम केन्द्र सुकी दहलगायतका स्थान पनि युद्ध पर्यटनका सम्भावित ठाउँ हुन सक्ने बताइएको थियो। सशस्त्र द्वन्द्वमा रोल्पा, रुकुमले भोगेको पीडा, युद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति भएको तेबाङ, जेल्बाङ गाउँले पनि प्रचार गर्न सकिएमा पर्यटक पर्खिबसेको जस्तो लाग्दछ।

शहीद स्मृति आवासीय जनवादी स्कुल, जनकम्युन, जनसहकारी जस्ता संरचनाहरु पनि युद्ध पर्यटनका सम्भावित क्षेत्र हुन्। शान्ति प्रक्रियापछि माओवादी लडाकूको पाचौँ डिभिजन बसेको दहवन, उघा, तिलालगायतका ठाउँलाई युद्ध पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ। यी स्थानमध्ये त्रिवेणी गाउँपालिकाको तिलामा लुम्बिनी प्रदेश सरकारले युद्ध सङ्ग्रहालय निर्माण आरम्भ गरेको छ। सो स्थानमा अघिल्लो वर्ष सङ्ग्रहालय भवन निर्माण गरिएको थियो।

भिडन्तको प्रतिक बनेका जिल्लाका विभिन्न स्थानलाई शान्ति प्रक्रियापछि संरक्षण प्रवद्र्धन र विकास गर्नुपर्नेमा पर्नेमा त्यसो हुन नसकेको जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियारको भनाइ छ। परियारका अनुसार जहाँ भिडन्तमा बलिदानी भयो ती ठाउँमा मृतकहरुको नाम उल्लेख गरेर स्तम्भ बनाउन सकिएमा मात्र पनि मृतकहरुकहो बलिदानीको केही सम्मान हुन सक्थ्यो। केही स्थानीय तहले यसका लागि प्रयास गरे पनि त्यो पर्याप्त नरहेको परियारले बताए।

‘केही ठाउँका युद्ध संरचना संरक्षण गर्ने काम भएका छन् तर भिडन्त भएका ठाउँमा भने कुनै काम भएका छैनन्’, परियारले भने।

सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने थबाङलाई माओवादी विद्रोहको केन्द्र मानिन्छ। युद्व कालमा यो गाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेको थियो। थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीका अनुसार थवाङ गाउँ र जलजला पहाडलाई एकीकृत रुपले विकास गर्न थालिएको छ।

‘नेपाल सरकारले निर्धारण गरेका देशका १०० पर्यटकीय गन्तव्यमध्ये एक गन्तव्य रहेको जलजलालाई थवाङसँग जोडेर विकास गर्ने काम भएको छ’, घर्तीले भने।

थवाङमा शहीद स्मृति वाटिका बनाउने काम अघिल्लो वर्षदेखि शुरु गरिएको छ। सशस्त्र युद्धमा थवाङले गरेको लगानीअनुसार त्यसको संरक्षणमा अहिले काम हुन नसकेको घर्तीले बताए। युद्वका समयमा थवाङको ठूलो गाउँका दर्जनौँ घर आगो लगाएर ध्वस्त पारिएको थियो।

रोल्पाको पर्यटन विकासका लागि युद्ध पर्यटन महत्वपूर्ण पक्ष भएको सुनछहारी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनको भनाइ छ।

‘युद्धमा निर्माण गरिएका वङ्करको संरक्षणका साथै अन्य संरचनाहरुलाई पनि सुरक्षित राख्ने काम गरिरहेका छौँ’, पुनले भने।

बाह्य पर्यटकलाई जिल्ला भित्र्याउने तथा आन्तरिकरुपमा पनि आस्थाको केन्द्र बनाउन ती स्थानलाई सुरक्षित गर्न जरुरी रहेको पुनले बताए। देशमै एउटै गाविसबाट सबभन्दा धेरै बलिदानी गर्ने जेल्वाङको द्वन्द्व पर्यटन विकासमा विशेष चासोका साथ काम भइरहेको पुनको भनाइ छ। सुनछहारी गाउँपालिका–७ साबिक जेल्वाङ गाविसमा सरकार र विद्रोही पक्षबाट एकै गाउँमा ७३ जनाले ज्यान गुमाएका थिए।

मानवअधिकारवादी खेमबहादुर बुढामगरले जिल्लामा युद्ध पर्यटन प्रवद्र्धन गर्न सकिए युद्धको अध्ययन अनुसन्धान गर्न चाहनेलाई सहयोग पुग्ने बताए।

बुढामगरले भने, ‘हामीले युद्धको समयका विविध वस्तु तथा अवस्थालाई झल्काउने गरी सामग्रीहरु राख्न सक्यौँ भने पर्यटन प्रवद्र्धन गर्दै यसको बजारीकरण गर्नेतर्फ ध्यान दिन जरुरी छ।’

यसले रोल्पाबाटै १० वर्षे माओवादी आन्दोलन किन शुरु भयो भन्ने कुराको अध्ययन गर्न सहयोग पु-याउने उनले बताए। युद्ध पर्यटन प्रवद्र्धनका लागि राज्य र माओवादी दुवैले ध्यान दिन नसकेको बुढामगरले औँल्याए।

सशस्त्र द्वन्द्वको समयमा प्रयोग तथा निर्माण भएका र अहिले पनि जीवित संरचनाको संरक्षण र संद्र्धन गर्नुपर्नेमा उनले जोड दिए। सामरिक महत्व भएका ठाउँहरुमा द्वन्द्वको झल्को दिने गरी ‘स्केच’ बनाउने, डकुमेन्ट्री बनाएर प्रचारप्रसार गर्नुपर्छ वुढाले भने। रोल्पामा युद्ध पर्यटन प्रवद्र्धनका लागि विभिन्न चर्चा गरिएजस्तो यसतर्फ ठोस प्रगति हुन सकेको छैन। स्थानीय तह र प्रदेश सरकारबाट केही थालनी भए पनि ठोस काम हुन नसकेको सशस्त्र युद्धमा श्रीमती गुमाएका माडी गाउँपालिका– ३ का शेरबहादुर बुढाले बताए। रोल्पाको पहिचान तथा विकास र समृद्धि युद्ध पर्यटनको विकासले पनि हुनसक्ने भन्दै बुढामगरले यसको प्रभावकारी प्रचारप्रसार पनि जरुरी रहेको औँल्याए।

रुन्टीगढी गाउँपालिकाका नायब सुब्बा तथा जिल्लाका पर्यटन ‘फोकल पर्सन’ दीपेन्द्रकुमार डिसीले युद्ध पर्यटनलाई केन्द्रमा राखेर ‘पर्यटन गुरुयोजना’ बनाउनुपर्ने बताए। विगतदेखि नै गुरुयोजना निर्माणको लक्ष्य राखे पनि बजेट अभावमा हुन नसकेको बताए।

उनले भने, ‘जिल्लामा यससम्बन्धी अवधारणालाई केन्द्रमा राखेर पर्यटन गुरुयोजना बनाउनुपर्छ तर हालसम्म चर्चा गरिएजस्तो गुरु योजना बनाउने काम भने हुन सकेको छैन।’

तत्कालीन जिल्ला विकास समिति रोल्पाले पर्यटन प्रवद्र्धन गर्न लिबाङ–८ गुरुङ गाउँ, थबाङ–५ ठूलोगाउँ, जंकोट र कोटगाउँ माडीचौरमा घरबास कार्यक्रम ९होम स्टे० सञ्चालनका लागि प्रक्रिया थालनी गरिसकेको छ। जेल्बाङ–३, ठूलोगाउँमा होम स्टे प्रवद्र्धनका लागि तारा गाउँ विकास समिति काठमाडौँलाई जिम्मा दिएकामा प्रारम्भिक सर्वेक्षण भएको थियो। सरकारले घोषणा गरेको गुरिल्ला टे«किङ रुटमा सदरमुकाम लिबाङ समेटिएको छैन।

बाइसे, चौबिसे राज्यको पालामा स्थापित राज्य खुङ्ग्रिकोट, गजुलकोट, सुन बग्ने सुनछहारी, बिवाङ दह, रुन्टी, गढीलेक, शिवगुफालगायतका ठाउँ पनि पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिन्छन्। यी ठाउँमा पनि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको अभाव छ। सदरमुकामबाट करिब सात किलोमिटरको दूरीमा रहेको रोल्पा नगरपालिका– ६ माडीचौरमा केही वर्षअघि पर्यटन सूचना केन्द्र भवन निर्माण गरिए पनि आवश्यक सूचना अभावमा बन्द रहेको छ। पर्यटकलाई पर्यटनसम्बन्धी सूचना दिन भवन निर्माण गरिए पनि सूचनाको अभाव छ। यो सूचना केन्द्रमा उचित व्यवस्थापनको समेत अभाव रहँदै आएको छ।

जिल्लामा पर्यटनको विकास भए विदेशिएका युवाहरुले स्वेदेशमै रोजगारीमा अवसर पाउने अपेक्षा गरिएको छ। रोजगारीका अन्य अवसर पनि कम भएको र खेतीयोग्य जमीनको पनि अभाव रहेको रोल्पामा युद्ध पर्यटनको विकाससँगै आर्थिक विकासमा सम्भावनाको ढोका खुल्ने थियो। युद्धका कारण विश्वमा चिनिएको रोल्पा शान्ति प्रक्रियापछि भने झनै ओझेलमा पर्दै गएको भान हुन थालेको स्थानीयवासी लोकेन्द्र चन्दको भनाइ छ। यहीँबाट शुरु भएको द्वन्द्वका कारण मुलुकमा ठूलो परिवर्तन भयो र देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो तर अहिले यही जिल्ला आझेलमा पर्नु राम्रो नभएको यहाँका स्थानीयवासीको भनाइ छ।

सशस्त्र युद्धमा रोल्पाबाट एक हजारभन्दा बढीले ज्यान गुमाएका बताइएको थियो। स्थानीय शान्ति समिति रोल्पाको अभिलेखअनुसार भने सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएको भन्दै ९५९ जना मृतकका आफन्तले राहत बुझेका थिए। द्वन्द्वमा रोल्पा जिल्लाबाट बेपत्ता भएका ३३ जनाको अवस्था भने अझै अज्ञात छ। द्वन्द्वकालमा घाइते तथा अपाङ्गता भएकाहरुमध्ये २५० भन्दा बढीले राहत बुझेका थिए। स्थानीय शान्ति समिति रोल्पाका अनुसार द्वन्द्वका क्रममा रोल्पामा १७ करोड २४ लाख नौ हजार ३७ बराबरको भौतिक संरचना ध्वस्त भएको थियो। व्यक्तिगत घर, गोठ, प्रहरी चौकी, गाविस भवन तथा विभिन्न परियोजनाका कार्यालयहरुसमेत सो समयमा ध्वस्त भएका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…