सर्भेयरको सगरमाथा मापन अनुभवः शिखरबाट फर्कंदा अब आधा घण्टामा मर्दैछु भन्ने लागेको थियो

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २४ ।नेपालले सगरमाथाको उचाइ मापन गर्ने घोषणा गरेको चार वर्षपछि नयाँ उचाइ तय गरेको छ।

फरक फरक विधिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरिएको र त्यसमा हाल कायम रहेको भन्दा ८६ सेन्टिमिटर उचाइ बढेको विभागले जनाएको छ।

योसँगै अब आज मंगलबारबाट सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ।

यसअघि भारत, चीन, अमेरिका र इटलीले फरक फरक समयमा सगरमाथाको उचाइ मापन गरेको र भिन्नभिन्न उचाइ तय गरेका थिए।

aawash steels

तर नेपालले सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको मापनअनुसार ८ हजार ८ सय ४८ मिटरको उचाइलाई मान्यता दिएको थियो।

‘अहिले नेपाल र चीनले आआफ्नै तरिकाले मापन गरेर मंगलबार संयुक्त रुपमा उचाइ सार्वजनिक गरेका छौं,’ सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक रहेका नापी विभागमा उप–महानिर्देशक सुशील डंगोलले बताए।

super kinetic courier

नेपाल र चीन दुवैले नयाँ र पुरान फरक फरक विधिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको हो।

‘जिएनएफएस, ग्राभिटी सर्भे, प्रिसाइस लेभलिङ नयाँ विधि र पुरानो विधि स्ट्रिगोनमिट्रीको प्रयोग गरेर यसको मापन गरेका छौं,’ डंगोलले भने, ‘सर्भेक्षणका क्रममा मौसमले पनि प्रभाव पार्न सक्ने भएकाले आद्रता, वायुको चाप र तापक्रम पनि संकलन गरेका थियौ।’

चीनले हवाई जहाजको प्रयोग गरेर गरिने एयरबोर्ड ग्राभिटी सर्भे पनि गरेको थियो।

नेपालले भने यस्तो सर्भे सन् २०११ मा देशभरको सर्भे गरेको थियो र अहिले पनि त्यसलाई प्रयोग गरेको डंगोलले बताए।

सगरमाथा उचाइ लिने क्रममा सगरमाथाको आरोहण गरेका नापी विभागका सर्भेयर खिमलाल गौतम सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको दिनलाई गौरवपूर्ण दिन भएको ठान्दछन।

सगरमाथा

‘नेपालको नापनक्साको इतिहास र गौरवपूर्ण दिनहरु छन्। विभिन्न महत्वपूर्ण दिन जस्तै यो पनि एउटा ऐतिहासिक दिन हो। यो सगरमाथाको उचाइ मात्रै होइन। यो सगरमाथाको राज्य आरोहणको दिन हो,’ गौतमले भने, ‘नेपाल सरकारले आफ्नै जनशक्तिलाई प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन तथा सार्वजनिक गरेको हुँदा यसलाई मैले राज्य आरोहणसँग जोडेको हुँ।’

विभागले मापनको प्रयोजनका लागि आरोहण टोलीमा चार जना कर्मचारीलाई छनोट गरेको थियो। तीमध्ये दुई जना आधार शिविरमा बसेका थिए भने गौतम र रविन कार्की शिखरसम्म पुगेका हुन्।

गौतम, कार्की सहितको सो टोलीलाई मंगलबार नयाँ उचाइको संयुक्त घोषणा गरेलगत्तै विभागले सम्मान गरेको थियो।

‘हामी नेपालीले पनि केहि गरेर देखाउन सक्छौं भन्ने कुरा आज प्रमाणित गर्दा र नेपालको एउटा महत्वपूर्ण इतिहास रच्न पाएकोमा गौरव लागेको छ,’ गौतमले भने, ‘सगरमाथा आरोहणका क्रममा बालबाल ज्यान बचेको थियो तर आज त्यो संघर्षलाई एउटा निष्कर्षमा पुर्‍याउँदा अत्यन्त गर्व लागेको छ।’

शिखरमा दुई सर्भेयर
सगरमाथाको उचाइ मापनका लागि नापी विभागकै दुई जना सर्भेयरहरु उपकरण लिएर सगरमाथाको चुचुरोमा पुगेका थिए।

विभागका मुख्य सर्भेयर ३६ वर्षीय खिमलाल गौतम र सर्भेयर रविन कार्की २०७६ जेठ ८ गते बिहान तीन बजे सगरमाथाको शिखरमा पुगेका थिए।

‘सगरमाथा चुनौतिको अर्को नाम हो। सगरमाथा चढ्दा कसैले डरै लागेन भन्छ भने त्यसले ढाँटेको हो,’ गौतमले भने, ‘डरलाई जसले जितेर जानसक्यो त्यो मात्रै शिखरमा पुग्ने हो।’

उनीहरु भने अरुजस्तो आरोहणका लागि मात्रै पुगेका थिएनन्।

त्यहाँ उनीहरु पुग्नुको विशेष प्रयोजन थियो।

‘हामीलाई चढ्नु मात्रै थिएन, त्यहाँ पुगेर हाम्रो आफ्नो जिम्मेवारी पुरा पनि गर्नुपर्ने थियो, त्यो निकै चुनौतिपूर्ण थियो,’ गौतमले भने।

उनीहरुले विभिन्न उपकरणहरु बोकेर त्यहाँ पुगेका थिए।

‘जिएनएसएस रिसिभर र जिपिआर उपकरण लिएर सगरमाथाको चुचुरोमा पुगेका थियौं। त्यस क्रममा हामीले १ घण्टा १६ मिनेटको डेटा लिएका छौं। उपकरण स्थापना गर्दा, निकाल्दा र अक्सिजन परिवर्तन गर्दा करिब २ घण्टा सगरमाथाको चुचुरोमा बस्यौं,’ शिखरमा पुगेर फर्किएका कार्कीले भने।

सन् २०११ मा निजामति कर्मचारीको टोलीको सदस्यका रुपमा गौतमले सगरमाथाको आरोहण गरेका थिए भने कार्की पहिलो पटक आरोहणमा गएका थिए।

‘सगरमाथा आरोहण गर्नेहरुले शिखरमा १०–१५ मिनेट मात्रै बस्दा रहेछन्,’ कार्कीले भने।

उनीहरु सगरमाथामा पुग्दा त्यहाँको तापक्रम माइनस ४३ डिग्री थियो।

‘थुकेको थुक भुईमा नर्झदै बीचमै जम्थ्यो,’ गौतमले भने, ‘त्यस्तो अवस्थामा हामीले प्राविधिक उपकरण प्रयोग गर्‍यौं। पातलो पञ्जामा काम गरेको हो। त्यसले गर्दा हामीसँग जानुभएका शेर्पाको हातमा झण्डै समस्या आएको थियो।’

आरोहण टोलीका नेता गौतमले आरोहण मात्रै नभएर अन्य काम पनि गर्नुपर्ने भएकाले लामो समय बस्नु परेको बताए।

‘स्याटलाइटको प्रयोग गरेर उचाइ मापन गर्न थालेको ४० वर्षमा नेपालले पहिलो पटक आफ्ना सर्भेयरहरुलाई भौतिकरुपमै चुचुरोमा पठाएर सगरमाथाको मापन गरेको हो,’ गौतमले भने, ‘चीनले पनि सर्भेयरहरु हामीले पुगेपछि मात्रै पठाएको हो। यो संयुक्त रुपमा उचाइको घोषणा गर्दा हामीले एउटा इतिहास कायम गरेका छौ।’

अवरोहणमा बेहोस
अवरोहणको क्रममा सर्भेयर कार्कीको अक्सिजन सकिएको थियो। उनी अचेत भएका थिए। आरोहण टोलीका सदस्य गौतम र उनीहरुका गाइड छिरिङ शेर्पाले कार्कीलाई सुरक्षित रुपमा घिसार्दै तलसम्म झारेका थिए।

‘रविन कार्कीको त्यतिबेलाको स्थितिको कुरा गर्दा त उहाँ चाहिँ करिब करिब मरिसक्नु भएको थियो। उहाँ त्यस्तो अवस्थामा हुँदा मेरो ठ्याक्कै आँखा पर्‍यो अनि मेरो अक्सिजन निकालेर लगाइयो। तर उहाँकाे तत्काल होस आएन,’ गौतमले भने, ‘त्यसपछि हाम्रो गाइड छिरिङ जम्बु शेर्पाले हार गुहार गरेर अर्को अक्सिजनको व्यवस्था गर्नुभयोे र त्यसरी उहाँको जीवन बचायौँ।’

उनका अनुसार निकै तलसम्म झर्दा पनि रविनको राम्रोसँग होस आएको थिएन।

कार्कीले हिलारी स्टेप पार गर्ने वित्तिकै अक्सिजन सकिएको बताए। सगरमाथा आरोहणमा हिलारी स्टेप निकै जोखिमपूर्ण मानिन्छ।

‘त्यतिबेला म एक्लै थिएँ। अरु शेर्पाको पछि लागेर क्रस भएँ। पछि फर्केर हेर्दा खिमलाल सर र छिरिङ सरलाई देखिन। त्यसपछि अक्सिजनको प्रेसर जाँचे। जाँच गर्दा त्यसको लेभल ५० मात्रै थियो। त्यसपछि मलाई अबको आधा–एक घण्टामा मर्दैछु भन्ने लाग्यो,’ कार्कीले सम्झे।

त्यसपछि कार्कीलाई के गरौं कसो गरौं भन्ने भएको बताउँछन्।

‘त्यो क्षण अहिले कल्पना पनि गर्न सक्दिन। छिरिङ र खिमलाल सर पनि आउनु भयो। छिरिङ सरले मलाई जति सक्नु हुन्छ तल झर्नु भन्नु भयो। अलि तल झर्ने वित्तिकै स्याँस्याँ हुन थाल्यो। त्यसपछि एकछिन आराम गर्छु भन्दाभन्दै अचेत भएछु,’ कार्कीले भने।

उनलाई निमा टेण्डी शेर्पाले अतिरिक्त अक्सिजन दिएका थिए।

‘त्यसपछि ब्ल्याक एन्ड ह्वाइट एचडी टिभी जस्तो दृष्यहरु देखिन थाल्यो र क्रमशः सामान्य अवस्थामा फर्कें,’ कार्कीले भने, ‘पाँच दस मिनेट आराम गरेपछि बिस्तारै तल ओर्लिन थाले।’

कार्कीले ५ देखि ७ मिनेट जति आफू अचेत भएको अनुमान गर्छन्।

हिमाल आरोहण र ट्रेकिङको समेत कुनै अनुभव नभएका कार्की सिधै सगरमाथा आरोहणका लागि छनाेट भएका थिए।

छनोट भएपछि भने परीक्षणका लागि उनीहरुलाई लाङटाङ हिमाल लगिएको थियो।

सगरमाथा १५ करोड खर्च
सगरमाथा मापनका लागि करिब १५ करोड रुपैया खर्च भएको छ।

‘तीन वर्षका लागि सरकारले १७ करोड रुपैया खर्च विनियोजन गरेको भएपनि करिब १५ करोड रुपैयामै काम सकियो,’ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले भने, ‘सुरुमा २५ करोड रुपैया लाग्ने अनुमान गरेपनि न्युजिल्यान्डको एउटा संस्थाले केही उपकरण अनुदान दिएका कारण कम खर्च लागेको हो।’

यो मापनसम्बन्धी बिभिन्न कामका लागि विभागमा ८० जना कर्मचारी प्रत्यक्ष रुपमा संलग्न रहेको डंगोलले बताए।

‘फिल्डमा खटिनु भएका साथीहरु पनि डेटा प्रशोधनमा समेत लाग्नु भयो’ उनले भने।

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…