
भरोसा छैन रे इमान्दारिताको यहाँ
✍️करुणा श्रेष्ठ
कामै छैन सम्मान यहाँ जरुरत छैन रे इमान
गगन आज एक्लै हुँदा जागरुकै पनि हैन रे जमान ।
कैले गाउनु छ गीत यहाँ कैले पढ्नु छ कविता
सक्ने जति उभिनु अरे नसक्नेले हेर्नू रे रमिता ।
इष्ट उहीँ देवता उहीँ सब-सब भए हितैषी मित्र
दौलतविना हार नपहिरिँदा हुन्छ रे उहीँ अपवित्र ।
बेविचारी द्वेषले हिँड्दा हुँदैनन् कोही अखण्डित
सत्कर्मले सुमार्ग जोशले हिँड्दा हुन्छ उहीँ दण्डित ।
नियति उस्तै छ अनेक संसार बनाउने परिस्थिति
दरिद्र भयो जटिल उहीँ अब्बल भएको मनस्थिति ।
घमासान युद्ध चलेको छ कमाउने र जमाउनेको
न्युन लाम दीर्घ जीवनको हात समाउने र रमाउनेको।
उच्च भए ऐश्वर्य ओहोदा वृद्धि हुन्छ अरे ख्यातीमा
खलबली हुँदा रुष्ट भई परिणत हुन्छ रे ब्याधिमा ।
दख्खल चाहिन्छ अब्बल बन्न सिकायो त्यहीँ धुलोले
खेतबारी यहाँ बाँझै हुँदा काम गर्दैन यहीँ कुलोले ।
विचार यहीँ विश्वास भरोसाको इमानले जोडेको
संकल्प जीवनको प्रतिक्रिया यै जमानतले छोडेको ।
जिम्मेवारी यो ज्ञानरुपी इमानले द्रव्य होइन गोडेको
विना विमर्श मनका भाव बेइमानले छैन मोडेको ।
यथेष्ट यहीँ शब्द बन्दा तिमी किन चिन्तक बनेनौ
दीनको छिन सहने परिश्रमीलाई विचारक भनेनौ।
राख यहीँ इमानको भरोसा अलौकिक सम्मान छ
तिम्ले गर्छौ यसकै विश्वास यहीँ मेरो अनुमान छ ।