
काठमाडौं, मङ्सिर १६ ।काठमाडौं उपत्यकामा शैक्षिक संस्था खुल्ने तर जोरविजोर प्रणाली नखुल्ने देखिएको छ। त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुलाई सकेसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न सूचना नै जारी गरिसकेको छ।
तर काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ २५ देखि लागेको जोरविजोर प्रणाली अझै हटेको छैन। जोरविजोर प्रणालीले सार्वजनिक यातायातसँगै दुईपांग्रे सवारीमा यात्र गर्ने सर्वसाधारण मारमा परेका छन्।
जोरविजोर न पूरा रुपमा लागू छ, न त खुल्ला नै छ। ट्राफिक प्रहरी महाशाखाले दैनिक सयौँ सवारीसाधनलाई जोरविजोर उल्लंघन गरेको भन्दै कारबाही गर्दै आएको छ।
काठमाडौं उपत्यका नगर फोरमको सुझावमा सरकारले काठमाडौं, भक्तपुर र ललितपुरका जोरविजोर लागू गर्दै आएको छ।
ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय भएकाले जोरविजोर हट्ने निर्णय नगर्दासम्म आफूहरुले कार्यान्वयन गर्ने बताएको छ।
‘सरकारले गरेको निर्णय हामीले कार्यान्वयन गरेको हो’, ट्राफिक प्रहरीका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले भने, ‘काठमाडौं उपत्यकामा भाडा र निजी दुवै प्रकारका गाडीमा यो नियम लागू छ। सरकारले जोरविजोर हटाउने निर्णय नगर्दासम्म लागू हुन्छ।’
उनले उपत्यकामा दैनिक ५ सयदेखि हजार गाडीसम्म जोरविजोर प्रणाली उल्लंघनको कारबाहीमा पर्ने गरेको बताउँछन्। ट्राफिक प्रहरीले जोरविजोरअनुसार नचल्ने सवारीलाई दिनभर होल्डमा राखी साँझ छाड्ने गरेको छ।
कक्षा १२ को परीक्षा सञ्चालन भइसकेको छ। त्रिभुवन विश्वविद्यालयले चैतमा स्थगन गरेका सबै परीक्षा सञ्चालनका लागि परीक्षा तालिका समेत सार्वजनिक गरेको छ। मंसिरको अन्तिमबाट परीक्षा सुरु हुँदै छन्।
‘मंसिर अन्तिमबाट मास्टर्सको परीक्षा सुरु हुँदै छ’, त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले भने, ‘जोर विजोर पूर्णरुपमा लागू छैन। प्रायः चेक गर्दैन। परीक्षा दिन जाँदा प्रहरीले बाइक होल्ड गरिदियो भने परीक्षामै असर गर्छ।’
शैक्षिक संस्था सञ्चालनमा आएसँगै आउजाउको संख्या पनि बढ्छ। जोरविजोर प्रणाली सार्वजनिक यातायातमा समेत लागू भएकाले कम गाडी सञ्चालन हुँदा झन् भीड बढ्ने देखिएको छ।
जनस्वास्थ्यविद् समीरमणि दीक्षित सवारीसाधनमा जोरविजोर नियम कार्यान्वयन जरुरी नभएको बताउँछन्। उनले जोरविजोरको कुनै फाइदा नभएको भन्दै उनले सर्वसाधारणलाई दुःख मात्रै भएको बताए।
‘जोरविजोर प्रणाली अझै लागू गरिरहनुपर्ने हो र? जनस्वास्थ्य अथवा संक्रमण नियन्त्रणको कोणबाट मैलेचाहिँ कुनै उपयोगिता देख्नसकेको छैन’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
सर्वसाधारणलाई दुःख मात्रै
सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गरिरहेको छ। कोरोना नियन्त्रणका नाममा जोर–विजोर लागू भएको भए पनि यसका कारण सर्वसाधारणले दुःख मात्रै पाएका छन्।
सरकारले जोर–विजोर लागू गरे पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्, देशभरमा एकैदिन ५ हजार संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजारसम्म संक्रमित भेटिएका थिए।
यातायात व्यवसायीले सार्वजनिक यातायातले कोरोना सार्छ भन्ने गलत प्रचार गरिएको बताएका छन्। उनीहरुले लामो समय लकडाउन तथा निषेधाज्ञा हुँदा उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको बताएका छन्।
अब सार्वजनिक यातायातमा जोर विजोर प्रणालीको कुनै फाइदा नगर्ने उनीहरुको भनाइ छ।
लकडाउनको समयमा पनि संक्रमितको संख्या बढ्दै जाँदा सर्वसाधारण तथा व्यवसायीले देशको अर्थतन्त्र डामाडोल हुने भन्दै लकडाउनको उल्लंघन गर्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै जेठ ३० देखि जोरविजोर लागू गरेको थियो।
जोरविजोर नम्बरका सवारी चलाउन पाउने नियम निजी सवारीमा मात्रै लागू गरिएको थियो। मोटर साइकलमा २ जना चढ्न नपाउने नियम बनाएको थियो।
लकडाउन खुलेपछि अधिकांश कार्यालय खुले तर सार्वजनिक यातायात खुलेनन्। जोर–विजोरका आधारमा चल्ने मोटरसाइकल तथा स्कुटरमा एक जना मात्रै यात्रा गर्न पाउने सरकारले नियम बनायो। यो नियमले पनि सर्वसाधारणले नै दुःख पाए।
लामो समयसम्म सार्वजनिक यातायात नखोल्दा चर्को विरोध हुनथालेपछि सरकारले असार २६ बाट यातायात खुल्ला गर्ने निर्णय गर्यो।
उपत्यकाका ३ जिल्ला र हरेक जिल्लाभित्र छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो। २६ असारबाटै निजी सवारी साधनको जोर–बिजोर हटाइयो।
यातायातका साधन खुलेसँगै फेरि कोभिड १९ का संक्रमित बढेको भन्दै फेरि साउन २२ मा सवारी साधनमा जोर विजोर लागू गर्यो।
भदौ ३ देखि त काठमाडौं उपत्यकासहित ४४ जिल्लामा निषेधाज्ञा लागू भयो। केही जिल्लामा १ हप्तामै हटे पनि उपत्यकामा ३ पटकसम्म समय थप्दै भदौ अन्तिमसम्म निषेधाज्ञा रह्यो। निषेधाज्ञा खुलेसँगै फेरि जोरविजोर लगाएको छ।