
काठमाडौं, मङ्सिर १६ ।सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ।
तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पुर्याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।
भैरहवास्थित भीम अस्पताल र जाजरकोट अस्पतालमा सरकारी दरबन्दीका एकजना डाक्टर पनि छैनन् । जब कि भीममा ११ जना र जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । त्यस्तै, आठ डाक्टरको दरबन्दी भएको जुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा चलिरहेको छ । प्रदेशस्तरका अस्पतालमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एउटा पनि पदपूर्ति छैन।
जाजरकोट अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६३ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, एकजना डाक्टरको पनि पदपूर्ति गरिएको छैन । अस्पतालले एकजना एमडी डाक्टर नियुक्त गरेको छ । छात्रवृत्ति कोटामा पढेका तीन मेडिकल अधिकृत पनि कार्यरत छन् ।
सरकारी दरबन्दीमा १७ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ५० शय्याको अस्पतालको भवन बनिरहेको छ । जनशक्तिको अभावमा एम्बुलेन्स सेवा, एक्स–रे सेवा बन्द छ।
प्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा सात वर्षदेखि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल जिरी नेतृत्वविहीन छ।
तनहुँ जिल्लाकै ठूलो दमौली अस्पतालमा जीवनजलको समेत अभाव छ। हुम्ला जिल्ला अस्पताल करार चिकित्सककै भरमा सञ्चालनमा छ । आठजना दरबन्दी रहेकोमा जिल्ला अस्पतालमा एकजना करार चिकित्सक र पाँचजना छात्रवृत्तिका चिकित्सक छन्।
प्रादेशिक अस्पताल जनकपुरमा पनि दरबन्दीअनुसार कर्मचारी र उपकरणको अभाव छ । ११औँ तहका १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैनन्।