
दोलखा,मङ्सिर ७ । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुको साँघुते स्थित टुडिखेलमा स्थानीयवासीले लाखौँ रुपैयाँको लागतमा मन्दिर निर्माण गरेका छन् ।
स्थानीयवासीको लागतमा निर्माण सम्पन्न भएको सन्तानेश्वर महादेव मन्दिरको हिजो उद्घाटन समेत गरिएको छ । मन्दिरको आज एक कार्यक्रमका बिच शैलुङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धावावाङ्गेल लामाले उद्घघाटन गर्नुभयो ।
उक्त मन्दिर निर्माणका लागी साँगुतेका भिम बहादुर बस्नेत, मान बहादुर बस्नेत, तिलक बहादुर बस्नेत सहित १३ घर रहेको बस्नेत वंशावलीबाट प्रति घर एक लाख ५ हजार रुपैयाँ संकलन गरिएको थियो । नपुुुग रकम स्थानीयवासीले सहयोग गरेका थिए ।
करिव ७ महिनाको अवधिमा निर्माण सम्पन्न भएको मन्दिर १७ लाख ९६ हजार ९ सय ४३ रुपैयाँ लागतमा निर्माण गरिएको पवटिबाट शिवकुमार भुजेलले जानकारी दिनुभयो ।
मन्दिरको भौतिक संरचना निर्माण सम्पन्न भएपनि पानी र बिजुलीको भने व्यवस्थापन हुन बाँकी रहेको छ । मन्दिरबाट भोलीदेखी नियमीत पुजापाठ सुरु हुनेछ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गोविन्द बुढाथोकी, अवकाश प्राप्त सेनानी पुण्य प्रसाद शर्मा र मन्दिर निर्माण समितिका सदस्य राजु बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।