
काठमाडौं ,मङ्सिर ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा अभद्र व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरेका हुन्।
नेता पाण्डे सोमबार चितवनको राप्ती नगरपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताले उनीमाथि दुर्व्यवार गर्नुका साथै नाराबाजी र होहल्ला गरेका थिए।
प्रधानमन्त्री निकट युवा तथा विद्यार्थीका नेताहरुले कार्यक्रमा नेता पाण्डे बोलिरहेका बेला नाराबाजी र होहल्ला गरेपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।