
मङ्सिर १,डोल्पा । डोल्पामा हिमपात भएको छ। आइतबार रातिदेखि नै सुरु भएको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ।
भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात भएको हो। हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन्।
माथिल्लो डोल्पास्थित शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए। हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको छ। अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको लामाले बताए।
बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाले बताए। माथिल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन्।
त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ। त्यस्तै बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ जमेको छ।
वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको छ ।