
काठमाडौं, मङ्सिर १। कार्तिक शुक्ल द्धितीयको दिन अर्थात यम पञ्चकको पाँचौं दिनमा भाइटिका पर्व मनाइन्छ । देश-विदेश रहेका दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाएर यो पर्व मनाईंदै छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भगवानसँग दीर्घायुको कामना गर्छन् । यो पर्वलाई दुई वटा पाटोबाट महत्वपूर्ण मानिएको छ । त्यो हो-पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथा ।
परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथन छ । उक्त दिन यमुनाले यमलाई टीका लगाएपछि बहिनी यमुनाको इच्छा अनुसार सो दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद यमले दिएको कथन छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो । त्यसैले कात्तिक शुक्ल द्धितीयका दिन विशेष महत्व राख्छ ।
अर्को,
यो पर्वमा किराँत राजा बलिहाङको प्रसंग पनि निकै चर्चित छ । कथन अनुसार बलिहाङ रोगले थलिएर मृत्युको मुखमा पुगेका थिए । बलिहाङको मिति सकियो, त्यसपछि उनलाई लिन यमराज आए । सोही समयमा उनकी दिदी यमुना भाइलाई टीका लगाउन राजा बलिहाङको घर पुग्छिन् । दिदी यमुनाले राजा बलिहाङसँगै टीका लगाउन आग्रह गरिन् । टीका लगाएपछि यमले यमुनालाई दक्षिणा रुवरुप वर माग्न भने । सो क्रममा दिदी यमुनाले मखमलीको माला नसुकेसम्म र तेलको धारो नसुकेसम्म कुनैपनि भाइले मर्न नपरोस् भन्ने वर मागिन् ।
यमराज पनि मखमली र तेलको धारा नसुकुन्जेलसम्म राजा बलिहाङलाई नलैजान सहमत भएर फर्किए । त्यसपछि महिना बित्यो, वर्ष बित्यो । तर कहिलै तेलको धारा सुकेन । न त मखमली सुक्यो । दिदीबहिनीको दाजुभाइप्रतिको प्रेमकै कारण यमराजसमेत आजित भएको किंवदन्ती छ । सोही सम्झनामा यो पर्व मनाउन थालिएको हो । त्यसैले द्वितीयाको दिन दाजुभाइ र दिदी बहिनीबीचको प्रेम र आपसी सद्भावको पर्वका रुपमा मानिन्छ ।