
काठमाडौं । अन्तर्रााष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेर कोरोना संक्रमण पुष्टि भएको एक नेपाली फुटबलरको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार गरिएको परीक्षणमा यसअघि पोजेटिभ आएका खेलाडीसहित सबैको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।
यसअघि बंगलादेशको ढाकामा गत बुधबार गरिएको कोरोना परीक्षणका क्रममा एक खेलाडीको नतिजा पोजेटिभ आएको थियो । ढाका पुग्नेबित्तिकै गरेको परीक्षणमा सबै खेलाडीको नतिजा नेगेटिभ आएको थियो । तर, दोस्रो चरणको परीक्षणमा भने एक खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । बंगलादेशमै गरेको तेस्रो परीक्षणमा संक्रमित खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण देखिएपछि उनलाई आइसोलेसनका राखिएको थियो । तर, अब उनी छिट्टै टोलीमा जोडिने एन्फाले जनाएको छ । उनले कोरोनाकै कारण बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेल गुमाएका थिए ।
बंगलादेशसँगको पहिलो खेलमा नेपाल २-० गोलले पराजित भएको थियो । फिफा विश्वकप छनोटको तयारीमा रहेको नेपालले अब बंगलादोशसँगको दोस्रो खेल शुक्रबार खेल्नेछ । त्यस्तै बंगलादेशका मुख्य प्रशिक्षक जेम्सलाई कोरोना संक्रमण भएको जनाएको छ । शनिबार गरिएको कोरोना परीक्षणमा जेम्सको नतिजा पोजेटिभ आएको जनाएको छ ।