काठमाडौं, २५ कात्तिक । सरकारले लक्षण देखिएका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
‘निःशुल्क त थियो नै, परीक्षण तथा उपचार दुवै निःशुल्क गर्नेगरी मन्त्रिपरिषद्ले थप प्रष्ट पारेको हो,’ एक मन्त्रीले भने।
सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न भनेको थियो। तर सरकारले संक्रमितको परीक्षण तथा उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सर्वोच्चमा नै पुनरावेदन दर्ता गराएको थियो। सरकारले दर्ता गराएको रिट सर्वोच्चले खारेज गरिदिएपछि लक्षणसहितका संक्रमितको सरकारी अस्पतालमा निःशुल्क गर्न लागिएको हो।
गत भदौ २८ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो।