घरआँगनका मखमली र सयपत्री फुल सुक्न थालेपछि नजिकिँदै गरेको तिहारमा पनि छैन गाउँघरमा रमाइलो ।
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयपत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताइ ।
यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन् ।
सामान्यतया तीनदेखि चार महिना अवधिमात्रै रहने सयपत्री फूल यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेको भए पनि जोगिएका फूल राम्रै फुलेका थिए तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको शर्माले बताए ।
कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् ।