
काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको उल्लेख गरेका छन् । आज विहान प्रधानमन्त्रीको आफ्नै सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए । ओलीले सरकारलाई राम्रोसँग काम गर्न नदिईएको र पार्टीभित्रैबाट लगातार असहयोग भैरहेको पनि गुनासो पोखेका थिए ।
तर, आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान ओलीले दोहोर्याएका थिए । हिजोमात्रै, ओलीले आफूले राजीनामा नदिने बताएका थिए । उनले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हुने भएकोले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका थिए ।
मन्त्रिपरिषद बैठक लगत्तै नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । ओली भेट्न दाहाल बालुवाटार पुगेका हुन् । यसअघि दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका केही नेता र कानून व्यवसायीहरुसँग पेरिसडाँडामा परामर्श गरेका थिए ।
उक्त परामर्शमा ओलीले चाल्न सक्ने कदम र यसले पार्टीमा पार्नसक्ने सम्भावित असरबारे चर्चा तथा छलफल भएको उक्त बैठकमा सहभागी एक नेताले जानकारी दिए ।प्रधानमन्त्री ओलीले अहिले सरकारले व्यहोरेको संकट सामन्य भएको तर अब आउने संकट झनै ठूलो हुने भन्दै संकट समाधान गर्न तयारी भएर बस्न मन्त्रीहरुलाई निर्देशन दिएको पनि स्रोतले जनाएको छ ।