२० कार्तिक , काठमाडौँ — डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् ।
उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् । न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसकेका छन् । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राखेका थिए ।
त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् । केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ ।
बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् । अन्तिम नतिजा आउने बेलासम्म ट्रम्पले पनि ओबामाले प्राप्त गरेको भन्दा बढी मत पाउन सक्ने देखिएको छ । यसपटकको निर्वाचनमा धेरै मानिसहरुले विभिन्न माध्यमबाट सहभागिता जनाएको कारण दुवै उम्मेदवारले उल्लेख्य मत पाएका हुन् ।
सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलेभन्दा करिब ३० लाख बढी मत पाएकी थिइन् । तर, निर्वाचनमा भने उनी पराजित भएकी थिइन् । लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ ।ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् ।