
नेपालको पहाडी भेगमा १६ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रममा फल्ने अमला एक बहुगुणी फल हो । जबजब हिउँदमा फाँटहरू खुल्ला हुन्छन्, ग्रामीण भेगमा अमलाको दानासँगै बित्छ धेरै युवायुवतीको दैनिकी ।
अमला खाने मुख्य सिजन भनेको नै हिउँदको सिजन हो । चैत्र–वैशाखदेखि साउनसम्म फुलिरहन्छ । उक्त फूलमा भदौसम्म सकेपछि मंसिरसम्म फल लागिसक्छ । असोजदेखि माघसम्मको समय अमला खान लायक समय हो ।
अमलाको प्रयोग धेरै किसिमले गर्न सकिन्छ । तर ग्रामीण भेगमा विशेषतः मुखमा अमला राखेर बिस्तारै बिस्तारै चपाउने शैली नै बढी प्रचलनमा रहेको देख्न सकिन्छ ।
सामान्यता १३ मिटरदेखि २० मिटरसम्मको उचाइमा हुने यो प्रजातिको बिरुवाको पात ससाना १ देखि २ सेन्टिमिटरसम्म लामो आकारको हुन्छ । कात्तिक मंसिरको समयमा पात झरेर नाङ्गै भएका अमलाका बोठहरू वसन्तको बहारसँगै फाल्गुनबाट हरिया बन्छन् । पात झरिसक्दा पनि अमलाको फल भने रसिलो नै हुन्छ ।
एसियाको उष्णदेशीय भूभागबाट सुरु भएको अमला नेपालको मेचीदेखि महाकालीसम्म १०० देखि १५०० मीटरसम्मको उचाइ भएको तराई, भित्री मधेश र पहाडी क्षेत्रमा पाउन सकिन्छ ।
वरिष्ठ फलफूल विकास अधिकृत सूर्यनाथ योगीका अनुसार मलिलो पाँगो र बलौटे माटोमा अमला बढी फस्टाउँछ । यसको केही समयदेखि व्यवसायिक खेती समेत गर्न थालिएको भए पनि प्राकृतिक जंगलमा समेत यो प्रशस्त मात्रामा पाइन्छ । यसको पनि विभिन्न भेदहरू पाइन्छ । नेपालमा बनारसी, चकैया, कञ्चन, फ्रान्सिस, कृष्णा जस्ता विभिन्न प्रजातिका अमला पाउन सकिन्छ ।
हिजोआज कोरोना भाइरसको जोखिमका कारण धेरै मान्छे शरीरमा रोग प्रतिरोध क्षमताको विकास गर्ने खालको खानामा धेरै ध्यान दिन थालेका छन् । जाडो मौसममा कोरोना भाइरसकोे जोखिम बढी हुने भन्दै त्यसबाट बच्नको लागि शरीरमा प्रतिरोध क्षमता विकास हुने खालका जडिबुटीको खपत समेत पछिल्लो समय बढ्न थालेको छ ।
कोरोनाका कारण गुर्जाेको प्रयोगलाई धेरैले अंगिकार गरेको पाइन्छ । सामान्यतया हरियो रंगका फलहरू जस्तै कागती, अमला जस्ता फललाई समेत शरीरको प्रतिरोध क्षमता विकास गर्ने खानेकुराको रूपमा चिनाउने गरिएको पाइन्छ ।
च्यावनप्रास बनाउँदा त्यसको मुख्य घटकको रुपमा अमलाको प्रयोग गर्ने गरिन्छ । चिसो मौसममा औषधीय गुणले युक्त फलफूलमा सायदै अमलाभन्दा धेरै औषधीय गुण युक्त फलहरू पाइन्छ । यस्ता छन् अमलामा पाइने औषधीय गुण ।
अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ । यसले टाउकोमा बाक्लो कपाल उमार्नको लागि मद्धत गर्छ । यसले कपाल कडा र कालो राख्न पनि मद्धत गर्छ भने पुरुषमा वीर्यको मात्रा बढाउने काम गर्छ । आँखाको प्रकाश बढाउने, रगत सफा राख्ने जस्ता उपचारको लागि पनि अमला सेवन सहायकसिद्ध हुन सक्छ । आयुर्वेदमा, अमलालाई त्रिदोष अर्थात् बात, पित्त र कफको समस्या समाधानको लागि समेत उपयोगी मान्ने गरिन्छ ।
अमलाको पोषक तत्वहरूमा निम्न मात्रामा विभिन्न गुण सम्मिलित हुन्छ ।
पानी – ८१.२ प्रतिशत
प्रोटिन – ०.५ प्रतिशत
फ्याट – ०.१ प्रतिशत
कार्बोहाइड्रेट – १४.१ प्रतिशत
फाइबर – ३.४ प्रतिशत
क्याल्सियम – ०.०५ प्रतिशत पाउन सकिन्छ ।
१०० ग्राम अमलामा ६०० मिलिग्राम भिटामिन सी प्राप्त हुन्छ । अमलाको बारेमा एउटा विशेष कुरा के हो भने यसमा पाइने भिटामिन सी अरू खानामा जस्तो छिटै नष्ट हुँदैन । जतिसुकै सुख्खा भए पनि यसमा पोषक तत्व पाउन सकिन्छ । विभिन्न अनुसन्धानले यो प्रमाणित भइसकेको छ कि १६ कोसा केरामा पाउने भिटामिन सी एक अमलामा पाउन सकिन्छ ।