
कात्तिक १९, दोलखा
पिसिआर परिक्षणको रिपोर्ट समयमै नआउँदा समस्या भएको भन्दै दोलखामा नै पिसिआर परिक्षणको व्यवस्था मिलाउन प्रयत्न गरिने भएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र दोलखाको आज बसेको बैठकले सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा नै पिसिआर परिक्षणका लागी आवश्यक उपकरण खरिद गर्न दोलखाका संघीय सांसद र प्रदेश सांसदलाई पुर्वाधार विकास साझेदार कार्यक्रमवाट ५०/५० लाख सहयोग गर्न अनुरोध गर्ने भएको हो । साथै उक्त ल्याव सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि धुलिखेल अस्पताललाई अनुरोध गर्ने निणर्य भएको छ ।
हाल दोलखामा कोभिड १९ को संक्रमण वढ्दै गएको र परिक्षणको लागि जिल्लावाट स्वाव संकलन गरी धुलिखेल अस्पताल पुर्याउनु पर्ने बाध्यता रहेको छ । त्यसैगरि पिसिआर रिपोर्ट समयमै नआउँदा स्वाव संकलन गरेका व्यक्तिहरुको निगरानी गर्न समस्या हुने, परिणाम नआउँदा संक्रमित तथा स्वाव परिक्षण गराउने व्यक्तिले समेत मानसिक तनाव वेहोर्नु परेको अवस्था छ ।
त्यसैगरि कोभिड १९ को परिक्षणको पछिल्लो नतिजा अनुसार दोलखा जिल्लाका विभिन्न बजार र केही जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरुमा कोभिड १९ को संक्रमण देखिएकाले जिल्लामा कार्यरत गैर सरकारी संघ संस्था, वित्तिय संस्था र जलविद्युत आयोजना र उद्योग व्यवसायमा फ्रन्ट लाइनमा काम गर्ने र जोखिममा रहेका कर्मचारीहरुको संस्थाकै खर्चमा पिसिआर परिक्षण गर्न लगाउने निणर्य भएको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि बजारमा हुने भिडभाडलाई कम गर्न सोमबार बसेको बैठकले बजारका खाद्य तथा गैर खाद्य पसल खोल्ने समय फरक गर्न सिफारिस भएकोमा जिल्लाको चरिकोट लगायत सवै बजार पसलहरुमा किनमेल र व्यापार व्यवसाय गर्दा उच्च सतर्कता अपनाउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गर्ने गराउने निणर्य भएको छ । फुटपाथमा राखी सामान बेच्ने कार्य भने विहान ९ बजे पछी बन्द गर्ने निणर्य भएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले जानकारी दिनुभयो |