
कार्तिक १७, दोलखा | दोलखामा तिव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निणर्य गरिएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीको संयोजकत्वमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि चरिकोट बजार क्षेत्रमा भीमेश्वर नगरपालिका, दोलखा उद्योग वाणिज्य संघ, दोलखा चेम्बर अफ कमर्स र टोल सुधार समितिहरुको संयुक्त टोली बनाइ एक दिने सचेतनामूलक कार्यक्रम गर्ने र सोको प्रचारप्रसार स्थानीय सञ्चार माध्यम मार्फत गर्न अनुरोध गर्ने निणर्य गरेको छ ।
त्यसैगरि स्वास्थ्य सूरक्षा मापदण्ड पालना सम्बन्धमा अनुगमन तथा निगरानी गरी मापदण्ड पालना नगर्ने व्यक्ति, उद्यमी व्यवसायी, यातायात साधनहरुलाई नेपाल प्रहरीले सजाय र जरिवाना गर्ने निणर्य गरेको छ ।
चरिकोट बजारको ट्राफिक व्यवस्थापन तथा पार्किङ सम्बन्धमा भीमेश्वर नगरपालिकाको संयोजनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला समेतको सहभागीतामा छलफल गरी व्यवस्थित गर्ने निणर्य गरेको छ ।
तत्कालको लागि सिंगटी क्षेत्रतर्फ चल्ने यात्रुवाहक सवारी साधनले वीच बजारमा हाल तोकिएको स्थानमा चढाउने र ओराल्ने मात्र गरी सोको सट्टा टुडिखेल मुनी रोकी चढाउने ओराल्ने गर्ने व्यवस्था जिल्ला प्रहरी कार्यालयले ट्राफिक प्रहरीको समन्वयमा मिलाउने निणर्य गरेको छ ।
बजार क्षेत्रमा सामान लोड अनलोड गर्ने कार्य विहान ९ बजे अगाडि र साँझ ५ बजे पछि अन्य सवारी साधनको आवागमनमा अवरोध नहुने गरी मात्र गर्ने गराउने र मालवाहक सवारी साधनहरुले सिंगटी आवतजावत गर्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाटो प्रयोग गर्ने निणर्य गरेको छ ।
सडक तथा फुटपाथमा राखिएका निर्माण सामग्री र विक्रीका बस्तुहरु तत्काल हटाई पैदल यात्रीहरुलाइ सहज बनाउने, यसको व्यवस्थापन अनुगमन गरी कारवाही गर्ने व्यवस्था भीमेश्वर नगरपालिकाले मिलाउने र कोभिड १९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी चरिकोट बजारमा खाद्यान्न, तरकारी, फलफूल दुध तथा मासु जस्ता उपभोग्य वस्तुहरुको पसल प्रत्येक दिन विहान १० बजे सम्म र निर्माण सामाग्री लत्ता कपडा र फेन्सी, सिलाई कस्मेटिक लगायतका गैर खाद्य पसलहरु बिहान १० बजे देखि वेलुका ५ बजे सम्म मात्र खोली भिडभाड नियन्त्रण गर्न डिसिसिएमसीमा सिफारिस गर्ने निणर्य गरेको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, सुरक्षा निकाय, दोलखा उद्योग वाणिज्य संघ, दोलखा चेम्वर अफ कमर्स, यातायात व्यवसायी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।