
कार्तिक १७, दोलखा च्छोरोल्पा हिमताल भ्रमणका लागि गौरीशंकरबासीले रोक लगाएका छन । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकाले केही समयको लागि बाहिरी नागरिकलाई प्रवेशमा रोक लगाईएको हो ।
रोल्वालिङ हिमश्रृङ्खला साथै च्छोरोल्पा हिमताल विश्वकै चर्चित पर्यटकीय गन्तव्य हो । अहिले यस ठाउँको घुमघाम गर्ने समय हो । तर यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्न थालेको हुनाले गौरीशंकर गाउँपालिका वडा नं. ९ वडा कार्यालय र स्थानीयबासीले पर्यटकलाई प्रवेशमा रोक लगाएका हुन ।
फुर्सदको समयको सदुपयोग गर्दै मान्छेहरु विभिन्न ठाउँमा घुम्न थालेका छन् । घुम्ने क्रममा च्छोरोल्पा जानेको पनि लर्को छ । तर, महामारीको समयमा पर्यटकहरुको चहलपहलबाट गाउँमा कोरोना फैलिन सक्ने डरले स्थानीय स्वयमले प्रवेशमा रोक लगाएका छन् ।
सार्वजनिक सूचना प्रसारण/प्रकाशन गर्दागर्दै जबरजस्ती कोही प्रवेश गर्न खोजेमा स्थानीयबासी स्वयमले कारबाही समेत गर्ने भएकाले सबैलाई सचेत रहन वडाअध्यक्ष छिरिङ शेर्पाले आग्रह गर्नु भएको छ ।
महामारी साम्य भए पछि आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतका साथ प्रवेश गराउने वडा अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।