
कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा विद्युत् आपूर्तिमा अवरोधकै कारण पढाइ छुट्टी समस्या भइरहेको गोकर्णेश्वर–२ स्थित चण्डिकाश्वरी अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा सचिना थापाले दुखेसो पोखिन् ।
गोकर्णेश्वर क्षेत्रमा आइतबार २४सै घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विगत एक महिनादेखि दिउँसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने समयमै दैनिकजसो दुईदेखि तीन घण्टासम्म बत्ती जाने गरेको छ । जोरपाटीबाट सुन्दरीजलसम्मको सडक विस्तारका क्रममा रहेकाले पटकपटक दिउँसो पोल सार्न, बत्ती बिग्रिएका स्थानमा बनाउनेलगायत कामले विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण गोकर्ण नो लाइट कार्यालयका प्रमुख उमेशमान चिनियाँ विभिन्न स्थानमा विद्युत् तार, ट्रान्सफर्मरलगायत उपकरण बनाउनुपर्ने भएकाले विद्युत् आपूर्तिमा अवरोध आउने गरेको स्वीकार गर्छन् । आइतबार भने बौद्धमा टिपरले ट्रान्सफर्मर ढाल्दा २४ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भएको उनले सुनाए । टिपरले तीनवटा पोल ढालेको प्राधिकरणले जनाएको छ ।