
एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे ।
यद्यपि स्मार्टफोनसँगै चार्जर र इयरफोन नदिने एप्पलको उक्त काइदालाई अन्य कम्पनीहरुले पछ्याउँदै छन् ।
एक रिपोर्ट अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो आगामी फ्लागसिप स्मार्टफोनसँग चार्जर तथा इयरफोन नदिने योजना बनाएको छ ।
समाचार अनुसार सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सँग चार्जर तथा इयरफोन हुनेछैन । सामसुङको यो निर्णयले वातावरण प्रदूषण कम गर्न सहयोग मात्र गर्ने छैन स्मार्टफोनबाट हुने कम्पनीको मुनाफामा पनि वृद्धि गर्नेछ ।
दक्षिण कोरियाली मिडियाहरुका अनुसार सामसुङले केवल एस २१ सिरिजका ग्यालेक्स एस २१ प्लस तथा ग्यालेक्सी एस २१ अल्ट्रामा पनि चार्जर र इयरफोन दिनेछैन ।
यद्यपि कतिपयले चाहिँ इयरफोन र चार्जर एकसाथ हटाउनुको साटो सामसुङले सुरुमा स्मार्टफोनसँगै दिने इयरफोन हटाउने र अर्को चरणमा चार्जर पनि नराख्ने योजना बनाएको दाबी गरेका छन् ।
यद्यपि सामसुङले खर्च कटौती तथा आम्दानी वृद्धिका लागि विभिन्न खाले उपायहरुको अबलम्बन गर्दै आएको छ । सामसुङका कतिपय स्मार्टफोनले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछन् । तर यस्ता स्मार्टफोनसँग पनि कम्पनीले २५ वाटकै चार्जर दिने गर्दछ । यस्तोमा प्रयोगकर्ताले फास्ट चार्जिङका लागि सामसुङको अर्को छुट्टै चार्जर खरिद गर्नुपर्ने हुन्छ ।
एजेन्सी