
कार्तिक ९, दोलखा। हर्षको प्रतीक नेपालीको महान पर्व विजयादशमीको नवौं दिन आज दुर्गाको नवौं स्वरूप सिद्विदात्रीको पुजा आराधना स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई गरिदै छ । शक्ति स्वरूप सिद्विदात्रीको पुजा गर्नाले सम्पुर्ण संसार नै जित्ने अनिश्चितता हासिल गर्ने मान्यता रहेको छ।
विगतका वर्षमा महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको थियो भने यस वर्ष कोरोना महामारीका कारणले आफ्नै घरमा सबैले दुर्गा पुजा मात्र गर्दै छन् ।
विगतका वर्षमा भिमेश्वर नगरपालिका-२ मा रहेको प्रसिद्ध भिमेश्वर मन्दिरमा र अन्य शक्तिपीठमा पञ्चबली, बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्थ्यो त्यसैगरी पशुबलि नदिनेहरुले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्थे भने यस वर्ष स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै सरकारी पुजा मात्र गरिदै छ र सर्वसाधारणलाई यस वर्ष पुजा गर्न रोक लगाइएको छ।
सम्बन्धित गुठीका गुठियार र अन्य महत्वपुर्ण व्यक्तिको उपस्थितमा सामाजिक दुरी कायम र फेस मास्क प्रयोग गरी पुजा गरिदै छ । आज बिहान शिल्पकला, कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिएको छ ।
✍️सुवर्ण श्रेष्ठ