कार्तिक ८, काठमाडौँ। नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमा शुक्रबार अर्थात कार्तिक ७ गतेबाट विज्ञापन रहित प्रसारण क्लिन फिड लागु भएको छ। यो लागु भएपछि विज्ञापन रहित सामग्री प्रस्तुत गर्न नगर्ने विदेशी च्यानलहरुले क्लिन फिड नराख्दासम्म नेपालमा प्रसारण हुने छैनन्।
सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ नै ल्यायो। यो ऐन कार्यान्यनमा आएपछि विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।
क्लिन फिड लागु गर्ने भएपछि अहिले नेपालमा विदेशी च्यानलहरुमा विज्ञापनरहित सामाग्रीहरु प्रसारण भएका छन्। २०७७ कार्तिक ७ समय सम्मको समयसीमामा क्लिन फिड लागु गर्न नसक्ने र नचाहेका विदेशी च्यानलहरुको प्रसारण बन्द भएको छ।
कुन कुन च्यानलको प्रसारण बन्द भयो त?
नेपाल केवल टेलीभिजन महासंघका अनुसार हाल नेपालमा क्लिन फिड लागु गरेर प्रसारण गर्ने जम्मा ३२ वटा विदेशी च्यानल छन्। नेपाली टेलिभिजनमा वर्चस्व कायम गरेका भारतीय च्यानलहरु समेत अहिले ह्वात्तै घटेका छन्।
अहिले ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् भने ‘कलर्स’ , ‘स्टार्स’, कार्टुनका च्यानल, ‘जी न्युज’ बाहेकका भारतीय न्युज च्यानल लगाएतको प्रसारण रोकिएको छ।
यस्तै खेलकुद सम्बन्धि च्यानल , ‘अल्जजिरा’, ‘डिस्कबरी’ लगाएतका विदेशी च्यानलको समेत प्रसारण रोक्किएको छ।
भारतीय न्युज च्यानलले क्लिन फिड लागु गर्न चाहेका छैनन्
हाल नेपालमा निक्कै विवादित बनेका भारतीय न्युज च्यानलहरु भने तत्काल नेपालमा क्लिन फिड लागु गर्न चाहि रहेका छैनन्। न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न सहज छैन। त्यसैले ‘जी’ न्युज बाहेक सबै न्युज च्यानलको प्रसारण बन्द छ।