असोज २५ , बुटवल । कोरोना संक्रमणबाट आज रुपन्देहीमा थप चार जनाको निधन भएको छ । संक्रमित मध्ये बुटवल उप-महानगरपालिकाका ३ र तिलोतमा नगरपालिकाका एक जना रहेका छन् ।
बुटवल-११ कि ६१ वर्षीय महिलाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । यस्तै सोहि स्थानका ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा बाटोमा निधन भएको थियो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनि दमको रोगि थिए ।
यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।
उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी ति महिलालाई आईसीयूको अभावमा अन्यत्रै रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे दाङको बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा गए राति १० बजे उनको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।