
दैलेखको दुर्गम गाउँका किसानले हाइब्रिड बिउ उत्पादनबाट एक कराेडभन्दा बढी आम्दानी गरेका छन् । दैलेखको दुल्लु नगरपालिका– १३ का किसानले आफ्नो बारीमा उत्पादन भएको हाइब्रिड बिउ बेचेर बर्सेनि लाखौँ आम्दानी गर्दै आएका छन् ।
किसान विष्णुबहादुर शाही अहिले आफूले उत्पादन गरेको सिर्जना हाइब्रिड टमाटरको बिउ सुकाउने तरखरमा छन् । उनले एक केजीको मूल्य ५५ हजार रहेको बताए । यो वर्ष सबै किसान समूहमा मिलेर १० केजी बिउको अर्डर पूरा गर्नुपर्नेछ उनीहरूलाई ।
शाहीले भने, ‘दुल्लु नगरपालिका– १३ का किसानले हातेमालो सहकारीमार्फत बिउ उत्पादन गर्ने गरेका छौँ । प्लास्टिक घरमा हाइब्रिड बिउ निकाल्न निकै मिहिनेत गर्नुपर्दछ । फरक–फरक दुईवटा घरमा फरक जातका टमाटर उमार्नेदेखि उनीहरूको सिड क्रस गराउने काम भइरहेको छ ।’

शाहीसहित ८० जना किसानको समूहले बिउ उत्पादन गर्ने र बिक्री–वितरण गर्ने काम गर्दै आएका छन् । टाढाबाट हेर्दो सुक्खा देखिने यो भूभागमा किसानले बगाएको पसिनाले राम्रो मूल्य पाएको छ ।
सहकारीमा आबद्ध दुई सय ८० जना किसानमध्ये अहिले ८० जना किसाले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायतका बिउ उत्पादन गरेर बिक्री सुरु गरेका छन् । गत वर्ष ८० लाखको बिउ बिक्री गरेका उनीहरू यो वर्ष एक करोड २० लाखको बिक्री गर्ने सोचमा छन् ।
उत्पादित बिउ सिए सिड कम्पनीले खरिद गर्ने गर्दछ । एउटा किसानले न्यूनतम ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।