काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर चार हजार तीन सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् जसमध्य काठमाडौँ उपत्यकाका मात्रै २५ सय ४० संक्रमित रहेका छन् । याेसँगै हालसम्म ९८ हजार ६ सय १७ जनामा काेराेना संक्रमण पुष्टी भएको छ ।
यस अवधिमा २६ सय ७५ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले अहिलेसम्म ७१ हजार तीन सय ४३ जना डिस्चार्ज भएको जानकारी दिए ।
उपत्यकाको काठमाडौं जिल्लामा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर बिहीबार चार हजार तीन सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा पछिल्लो एक हप्ताभित्र १० हजारभन्दा बढी संक्रमण बढेको भन्दै प्रवक्ता डा. गौतमले स्वास्थ्य मापदण्ड पूरा पालना नभएको देखिएको बताए ।
हाल देशभर २६ हजार ६ सय ८४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ११ हजार सात सय १७ आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा देशभर १४ हजार नाै सय ६७ रहेको डा. गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा १८ हजार चार सय ७२ पिसिआर परीक्षण भएको उनले बताए ।
थप १२ जना संक्रमितको निधन
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा आठ पुरुष र चारजना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा दुई पुरुष, चितवनमा तीन, सुनसरीमा एक, धनुषामा एक र कास्कीमा एक गरी आठ जना पुरुषकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर र सुर्खेत गरी चारजना महिलाकाे निधन भएकाे मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ९० पुगेको छ ।