काठमाण्डौ – सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ ।
नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।
इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :
- आवेदन नि:शुल्क डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
- कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईंहरुलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला ।
- फाराम अनलाइनमार्फत भर्नुपर्ने : सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गइ इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई-डीभी आवेदन फारम भर्नु पर्नेछ ।
- पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईंले आफ्ना पति र पत्नी र आवेदनको समयमा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
- एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
- हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।
- बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यक : यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ ।
- आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
- आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।
- तपाईं डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२१ मा आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नु हो ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।