
असोज २० , चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले २४ घन्टामै पिसिआरको फरकफरक रिपोर्ट दिएको छ । सिएमसीको स्वाब परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३४ वर्षीय एक पुरुषको १७ असोजको नमुनामा कोरोना पोजेटिभ देखिएपछि उनले विश्वास नलागेर १८ गते पुनः नमुना दिए ।
चार महिनाको नेपालको बसाईपछि पुनः वैदेशिक रोजगारीको लागि जान लाग्दा उनले कोरोना परीक्षण गराए । १७ गतेको नमुनामा उनलाई कोरोना पोजेटिभ देखिएपछि १९ असोजको प्लेन टिकट समेत क्यान्सिल गरे । तर, १८ गतेको नमुनामा कोरोना नदेखिएको उनलाई प्रयोगशालाले रिपोर्ट दियो ।
यसअघि वैदेशिक रोजगारीमा युएई रहेका उनी कोभिड १९ को कारण काम रोकिएपछि स्वदेश फर्किएका थिए । युएईमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी १२ असारमा नेपाल फर्किए । तर, नेपाल आएको १२ औं दिनपछि उनलाई कोरोना पोजेटिभ देखियो र आइशोलेसनमा बसे ।
लक्षणविना कोरोना पोजेटिभ देखिएका उनको त्यतिवेला १० दिनपछि रिपोर्ट नेगेटिभ आएको थियो । तर, अहिले २४ घण्टामै फरकफरक रिपोर्ट आएपछि अस्पतालको प्रयोशालामाथि उनको विश्वास गुमेको छ । अस्पतालले आफुलाई मानसिक तनाव दिएको समेत उनले बताए ।
२४ घण्टामा फरकफरक रिपोर्ट आएको विषयमा भने अस्पतालका प्रयोगशालाका प्रमुख डा. सन्जय यादव स्वाब संकलन गर्दा त्रुटि भएको हुन सक्ने बताउछन् । ‘स्वाब संकलनको त्रुटिले रिपोर्ट फरक आएको हुन सक्छ , भाइरल लोड कम भयो भने पनि यस्तै समस्या हुन्छ’ उनले भने ।
सरकारी रेटमा पिसिआर परीक्षण गर्ने घोषणा गरेको सिएमसीमा घोषणा भन्दा पाँच सय बढि शुल्क तिर्नुपर्छ । सरकारी घोषणामा दुई हजार रुपैयाँ भनिएको भए पनि सिएमसीले दुई हजार पाँच सय शुल्क लिने गरेको छ ।