काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेको पाइँदैन । कतिपय मानिसले कोरोना संक्रमणलाई सामान्य तरिकाले हेर्नुका साथै प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा कोरोना संक्रमण भए पनि छिट्टै निको हुने भन्दै बेवास्तासमेत गरेको पाइन्छ ।
स्वदेश तथा विदेशका गरिएका विभिन्न अध्ययन तथा अनुसन्धानले कोरोनाभाइरस संक्रमित निको भइसकेपछि पनि लामो समयसम्म स्वास्थ्यमा समस्या आउने गरेको तथ्य प्रकाशमा ल्याएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका वयस्कमा समेत पछिसम्म स्वास्थ्य समस्या देखिएको पाइएको छ । कोरोना संक्रमणमुक्त भएर घर फर्किएका केही व्यक्तिले धेरै थकान महसुस गर्ने, छाती भारी हुने, शरीर फुर्तिलो नहुने, श्वास फेर्न अप्ठ्यारो हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।

परिषद्ले देशभरबाट संक्रमणबाट मुक्त ५ सय ७७ जनामा अध्ययन गर्दा उनीहरुमा संक्रमणमुक्त भएको लामो समयसम्म पनि स्वास्थ्यमा समस्या पाइएको परिषद्का डा. प्रदीप ज्ञवाली बताउँछन् ।
१८ वर्षभन्दा माथि उमेरकालाई समेटेर ५ सय ५२ जनामा संख्यात्मक अध्ययनमा र २५ जनामा गुणात्मक अध्ययन गरिएको परिषद्ले जनाएको छ । ३५ प्रतिशत निको भएका युवालाई २÷३ सातासम्म रुघा लाग्नुका साथै थकानको महसुस हुने गरेको अध्ययनले देखाएको छ ।
कोरोना संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा धेरै थकान लाग्ने, हल्का खोकी लागिरहने, छाती भारी हुने, श्वास फेर्न अप्ठ्यारो भएको महसुस गर्ने, रुघा लाग्ने गरेको अन्तर्राष्ट्रियस्तरमा गरिएका अनुसन्धानहरूले देखाएको सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् । इंग्ल्याण्डमा कोरोना संक्रमित निको भएकामध्ये झण्डै १० प्रतिशतमा निरन्तर समस्या देखिएको छ ।
कोरोनाभाइरस निको भएका व्यक्तिमा शरीर भारी हुने, आलस्य हुने, छाती दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्यालाई लिएर विदेशमा विज्ञहरु अध्ययन एवं बहस गरिरहेका छन् । संक्रमणमुक्त भएर पनि यस्ता लक्षण देखिएका बिरामीलाई के–कस्तो उपचार गर्ने भन्ने अझै टुंगो नलागेको डा. पुन बताउँछन् ।