
असोज १७ , काठमाडौं–प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्न प्रदेश ५ नेकपा संसदीय दलको बैठक बस्ने भएको छ। बैठक मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बिहान ८ बजे बैठक बस्न लागेको सांसद इन्द्रजित थारुले बताए।
प्रदेशको नाम र राजधानीका विषयमा एकरुपता ल्याउन नेकपा संसदीय दलले छलफल गर्न लागेको हो। यस विषयमा असोज १९ मा बस्ने प्रदेश सभा बैठकमा मतदान हुने भएको छ। नेकपा संसदीय दलले पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बताइएको छ।

प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्ने बताइएको छ। प्रदेश सभामा कूल ८७ सदस्य रहेकोमा नेकपाको २ तिहाई बहुमत छ। प्रदेश सभामा सत्तारुढ दलको मात्रै ६१ सांसद छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १९ जना, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरी प्रस्ताव पेश गरेका थिए।