
असोज १६ , महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई बस र एम्बुलेन्स दिएको छ ।
नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उपहार दिएका हुन् ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरिएको भारतीय दुतावासले जनाएको छ ।
दूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।
सन् १९९४ देखि आज सम्म ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको ददुतावासले जनाएको छ ।
राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।
दुतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् । एड्भान्स अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।
बेसिक एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् । कमन अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।
आज छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको जनाएको छ ।
नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको दुतावासले जनाएको छ ।