
बलात्कारजस्तो जघन्य अपराधमा पीडकलाई कडा कानुनी कारवाही नुहँदा पीडित पक्षले एकपछि अर्को पीडा झेल्नुपर्ने, एउटै पीडकबाट धेरैजना पीडित हुनुपरेको जस्ता घटना प्रकाशमा आइरहेका छन् ।
खासगरी ग्रामिण भेगमा अगुवाहरुले बलात्कारका घटनालाई लेनदेनका आधारमा मिलापत्र गराउनाले कतिपय पीडितले न्यायको अनुभूति गर्न नपाएको सरोकारवालाहरु नै बताउँछन् । यसरी मिलापत्र गराउँदा एकातिर पीडकले धनसम्पत्तिको बलमा उन्मुक्ति पाउने गर्दछ र अर्को अपराधका लागि उसले आत्मबल बढाउँछ भने पीडित पक्षले त्यही समाजमा तिरस्कार र दुव्र्यवहार झेल्नुपर्ने अवस्था निम्तिन्छ ।
आफूलाई गाउँका अगुवा ठान्नेहरुले विभिन्न प्रलोभन तथा धाकधम्की दिएर पीडितलाई मिलापत्रका लागि दबाब दिने गरेको पाइन्छ । परिणामस्वरुप कतिपय पीडितले आत्महत्या गरेका उदाहरण पनि छन् ।

बलात्कारका घटनालाई विभिन्न प्रलोभन तथा दबाबमा लुकाउँदा पीडित किशोरी एवं युवती मानसिक रोगी हुने या आत्महत्यासमेत गर्छन् भने कतिपयको सामाजिक अपहेलनका कारण परिवारसहित गाउँबाट उठीबास नै हुन्छ । यसरी पीडितलाई कानुनी कारवाहीबाट उन्मुक्ति दिलाउने गरी मिलापत्र गराउन विभिन्न दलका प्रतिनिधिहरु नै संलग्न रहने गरेको महिला अधिकारकर्मी रिता साह बताउँछिन् ।