
कोरोनाभाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै स्वाब परीक्षणको रिपोर्ट ढिला आउन थालेको गुनासो पनि बढ्न थालेको छ ।
एकातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्न मातहतका निकायलाई परिपत्र गरिसकेको छ भने अर्कोतिर परीक्षण गरिएकाहरुको रिपोर्टमा समेत ढिलाइ हुन थालेपछि संक्रमितको पहिचानमा ढिला हुन गई संक्रमण दर बढ्ने खतरासमेत विज्ञहरुले औँल्याउन थालेका छन् ।

निजी अस्पतालका प्रयोगशालाका तुलनामा सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको रिपोर्ट ढिलो आउने गरेको गुनासो व्याप्त छ । देशका विभिन्न भागमा ५० भन्दा बढी सरकारी र निजी प्रयोगशालामा पीसीआर परीक्षण गरिन्छ । सरकारी प्रयोगशालामा परीक्षणको रिपोर्ट आउन ३ देखि ५ दिनसम्म लाग्ने गरेको छ ।
सांसदले नै उठाए आवाज
प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिले कोरोनाभाइरस उपचार नियन्त्रण एवं रोकथामसम्बन्धी भइरहेका कार्यको अनुगमन गर्ने उपसमितिको बैठकमा केही सांसदले आफ्नै परीक्षण रिपोर्ट ढिला आएपछि गुनासो पोखे । नेकपा सांसद सरिता न्यौपानेले कोरोना परीक्षणको रिपोर्ट ढिलो आएका कारण पनि संक्रमण झन् फैलिएको बताइन् ।
कांग्रेसकी सांसद नमिता चौधरीले पीसीआर परीक्षण गराएको ५ दिनपछि मात्रै आफ्नो रिपोर्ट आएको गुनासो गरिन् । स्वाब परीक्षणको व्यवस्थापनमा स्वास्थ्य मन्त्रालय चुकेको आरोपसमेत सांसदहरूले लगाए ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने कोरोना परीक्षणको रिपोर्ट समयमै ल्याउन नसकेको आरोप ठाडै अस्वीकार गरे । रिपोर्ट ढिलो आउने गरेको आरोप मान्न उनी मान्न तयार नभए पनि ४८ देखि ७२ घण्टासम्म मुस्किलले परीक्षणको रिपोर्ट आउने गरेको सरोकारवाला बताउँछन् ।
क्षमताभन्दा बढी परीक्षण
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख रुना झा दिनमा ३ सय स्वाब परीक्षण गर्ने क्षमता भएको प्रयोशालामा ६ सय स्वाब आउने भएकाले ४८ घण्टाभित्र रिपोर्ट दिन मुस्किल पर्ने बताउँछिन् ।
‘प्रयोगशालासँग समन्वय नगरिकन स्थानीय तहहरूले जहाँ मन लाग्यो त्यहीँ स्वाब संकलन गरेर पठाउने गर्छन्,’ उनी भन्छिन्, ‘स्वाब परीक्षण नहुनु र बिरामीले रिपोर्ट नपाउनु फरक कुरा हो ।’
बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आएमा प्रयोगशालाले बिरामी व्यक्तिको हातमा रिपोर्ट नदिने उनी बताउँछिन् । यस कारण पनि कतिपयको रिपोर्टमा ढिलाइ भएजस्तो देखिएको उनको भनाइ छ ।
स्वाब संकलन केन्द्रबाट स्वाबको नमूनालाई प्रयोगशालासम्म ल्याएर परीक्षण गर्नुपर्दा स्वाभाविक रुपमा केही समय लाग्ने उनले बताइन् ।
मानौं, ५० वटा स्वाब परीक्षण गर्दा प्रारम्भमै १० जनाको रिपोर्ट पोजेटिभ आएमा तिनको रिपोर्ट तत्कालै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)लाई नपठाइ दिनभरि गरिएको परीक्षणबाट संकलित पोजेटिभ रिपोर्टलाई एकसाथ राति ८÷९ बजे पठाउने गरिन्छ ।
भोलिपल्ट बिहानदेखि बिरामीको पत्ता लगाउन सुरु गरिन्छ । कोही सम्पर्कमा आइहाल्छन् भने कोहीले फोन नउठाएर, केहीले गलत नम्बर दिएर, नाम–ठेगाना गलत दिँदा पनि समयमै सम्बन्धित व्यक्तिहरूसम्म पुग्न ढिला हुन सक्ने प्रयोगशाला प्रमुख झाको भनाइ छ ।