
२९ भदौ, बुटवल । कामबाट निकालिएका रुपन्देहीको तिलोत्तमास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरु आन्दोलित भएका छन् ।
कम्पनीले करार सम्झौता नवीकरण नहुने भन्दै इमेल पठाएपछि कर्मचारीहरुले पुनर्बहालीको माग गर्दै सोमबार रिसोर्ट घेराउ गरेका हुन् ।
झण्डै दुई सयजनाको संख्यामा उपस्थित कर्मचारीहरुले अन्यायमा परेको भन्दै आफूहरुलाई पुनर्बहाली गर्न माग गर्दै नाराबाजी गरेका छन् ।
आन्दोलनमा महिला कर्मचारीको संख्या उल्लेख्य छ । कर्मचारी आन्दोलनमा उत्रिएपछि रिसोर्टमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आन्दोदनमा उत्रिएका कर्मचारीहरुले शान्तिपूर्णरुपमै पुनर्बहालीको माग गर्दै नाराबाजी गरेको इलाका प्रहरी कार्यालय मंगलापूरका प्रमुख प्रहरी निरीक्षक रुम केसीले बताए ।
कम्पनीका उच्च पदस्थ व्यवस्थापन टिम भने अष्ट्रेलिया र हङकङमा रहेका छन् । रिसोर्टमा हाल निजी क्षेत्रका सुरक्षाकर्मी र केही विदेशी कर्मचारी मात्र रहेका छन् ।
होटलका एचआर म्यानेजर रहेका इन्द्र भट्टराईले आफूलाई करार सम्झौता नवीकरण नहुने इमेल आएको र आफू अहिले रिसोर्टमा नरहेकाले कर्मचारीको आन्दोलनबारे केही नबोल्ने प्रतिक्रिया दिए ।