
बागलुङको ढोरपाटन नगरपालिका–९ को बोबाङ सुकुर्दुङ खोलामा आएको बाढीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षती पुर्याएको छ । अविरल वर्षासँग आएको बाढीमा परेर १३ जना बेपत्ता भएका छन् भने चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
बाढीले स्वास्थ्य चौकीसहित १३ घर पूर्ण रुपमा नष्ट गरेको रेग्मीले बताए । उनका अनुसार मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन । बाढीले ढोरपाटन नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ मा ठूलो क्षती पुर्याएको छ । बाढीले दुई वटा विद्युत गृह, झोलुङ्गे पुल र दुई वटा विद्यालय समेत बगाएको छ ।
रातको समयमा आएको बाढीका कारण ठूलो धनजनको क्षती भएको स्थानीय जिवन घर्तिमगरले जानकारी दिए । घर्तिका अनुसार तटीय क्षेत्रका झण्डै ३० घर बगाएको अनुमान गरिएको छ ।

‘हामी उद्धारमा खटिएका छौं’ घर्तिले भने, ‘हालसम्म यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुको खोजी गर्दा २९ जना बेपत्ता भएको पाइएकाे छ । बेपत्ता हुनेकाे संख्या अझै थपिने सम्भावना छ ।’
अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । ‘घटनास्थलको दुरी र क्षेत्र निकै लामो भएकाले पनि उद्धारमा समस्या भएको छ,’ डिएसपी रेग्मीले भने, ‘अहिले थप सुरक्षाकर्मीसहित घाइतेहरुको उद्धार र बेपत्ता भएकाहरुको खोजी सुरु गरिसकेका छौँ ।’
ढोरपाटन नगरपालका वडा नम्बर ९ को लाँकुरीबोटका १५ घर, दुनेपँधेराका ५ घर, घट्टबोटका ८ घर र सुप्राङका २ घर बाढीले बगाएको छ । यसैगरी सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।
बेपत्ता हुने अधिकांश सालझण्डी-ढोरपाटन सडक खण्डअन्तर्गत खोला किनारमा व्यवसाय गरेर बस्नेहरु रहेकाे प्रहरीले जनाएकाे छ ।