
काठमाडौं – चर्चित हाँस्य श्रृंखला ‘सक्किगो नी’ बन्द भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको हाँस्य सिरियल ‘सक्किगो नी’ केही सातादेखि बन्द भएको हो ।
कोरोनाको कारण आयोजित लकडाउनसँगै नयाँ भाग प्रसार नभएर पुरानै भाग प्रसारण हुँदै आएको श्रृंखला अहिले आएर पुरै रोकिएको छ ।
श्रृंखला बन्द भन्दा पनि रोकिएको भन्नु पर्ने निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले बताए । लकडाउनयता नयाँ श्रृंखला बनाउन नसकेको कारण अहिलेलाई रोकिएको निर्देशक कट्टेलको भनाई रहेको छ ।
‘अहिले कोरोनाको कहर बढ्दो छ । हाम्रो युनिट पनि ठुलो छ’ कट्टेलले भने ‘सरकारले समेत सुटिङलगायत भिडभाड हुने गतिबिधि रोकेको कारण नयाँ श्रृंखला बनाउन सकिएन ।’
अहिलेको निषेधाज्ञा खुलेर सरकारले सुटिङका लागि अनुमती दिने बितिक्कै श्रृखला पुन सुचारु हुने कट्टेलले बताए ।
सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, हरि निरौला, रक्षा श्रेष्ठ, सागर लम्साल (बले ) सिपी पुडासैनीलगायतको अभिनय रहदै आएको छ । #हाँस्य श्रृंखला