बार्सिलोनाका कप्तान लियोनल मेसीले आइतबार प्रिसिजनअघिको अभ्यासका सत्रमा कोरोना भाइरस (कोभिड– १९) परीक्षण गर्न अस्वीकार गरेका छन् । नवनियुक्त प्रशिक्षक रोनाल्ड कोएम्यानले पहिलोपटक खेलाडीलाई आइतबार प्रशिक्षणमा बोलाएका थिए ।
प्रशिक्षणमा जानुअघि सबै खेलाडीको कोभिड परीक्षण भएको थियो ।
प्रशिक्षक रोनाल्डले आबद्ध सबै खेलाडीलाई कोभिड– १९ परीक्षण गर्न निर्देशन दिएका थिए । मेसीबाहेक सबै खेलाडीले कोभिड– १९ को परीक्षण गर्न दिएका छन् । मेसी नयाँ सिजनमा अन्य क्लबबाट खेल्न चाहन्छन् । गत साता उनले बार्सिलोनालाई ट्रान्सफर विन्डोमा सहज वातावरण बनाउन आग्रह गर्दै क्लब छाड्ने सन्देश दिएका थिए ।
बार्सिलोनाले अर्जेन्टिनी खेलाडीको रिलिज रकम ७० करोड पाउन्ड राखेको छ । पछिल्लो समय मेसी पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीसँग नजिक छन् । गत साता नै मेसीले आफ्नो बुबाको माध्यमबाट सिटीसँग कुराकानी चलाउन लगाएका थिए ।
आइतबार नाउ क्याम्पमा रोनाल्डले लुइस सुआरेजलाई पनि पाएका छन् । मेसीसँगै सुआरेजको पनि अन्य क्लबमा जाने हल्ला चलिरहेको छ । सुआरेजले अर्को निर्णय नहुँदासम्म बार्सिलोनामै रहने जनाएका छन् । यसकारण उनी आइतबारको सेसनमा देखा परेका हुन् ।
३३ वर्षीय मेसी भने कुनै पनि हालतमा बार्सिलोना छाड्ने अवस्थामा छन् । १६ वर्ष नाउ क्याम्पमा बिताउँदा उनले ६ सय गोल गर्नुका साथै ३३ उपाधि जितेका थिए । बार्सिलोनाको जोआन प्रशिक्षण सेन्टरमा स्टार खेलाडीमा मार्क एन्ड्रे तथा जोर्डी अल्बा पनि सहभागी थिए ।
टाइम लाइन
१४ अगस्ट – च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिखसँग ८–२ ले पराजित भयो, मेसीले खराब व्यवस्थापनको नतिजा भनी मुख खोले
१७ अगस्ट – बार्सिलोनाले प्रशिक्षक क्विक स्टटिएनलाई बर्खास्त गऱ्यो, बार्सिलोना १२ वर्षपछि उपाधिविहीन रह्यो
१९ अगस्ट – बार्सिलोनाले रोनाल्ड कोएम्यानसँग दुई वर्षको सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त गऱ्यो
२४ अगस्ट – प्रशिक्षक कोएम्यानले सिनियर खेलाडीहरूमाथि पुनर्विचार हुने र बार्सिलोना युवा खेलाडीको टोली बन्ने घोषणा गरे, जसबाट मेसी र सुआरेज दुःखी बनेका थिए
२५अगस्ट – प्रशिक्षक कोएम्यानका भनाइप्रति इंगित हुँदै मेसीले बार्सिलोनामा एउटा फ्याक्स पठाए, जसमा आफूले बार्सिलोना छाड्न चाहेको बताए
२६ अगस्ट – मेसीबाट बुबा जर्जले म्यानचेस्टर सिटीसँग सम्झौताको वार्ता गरे
३० अगस्ट – बार्सिलोनाले प्रिसिजनको तयारी गऱ्यो, जसमा मेसी प्रशिक्षण सेन्टरमा उपस्थित भएनन् ।